रसुवागढी र साञ्जेनको साधारण शेयर खुला

काठमाडौं । रसुवागढी र साञ्जेन हाइड्रोपावरका साधारण शेयर (आईपीओ) आजदेखि खुल्दैछन् । साञ्जेन र रसुवागढीको आईपीओ निष्कासनसँगै जनताको जलविद्युत अन्तर्गतका तीन आयोजनाले सर्वसाधारणलाई आईपीओ विक्री गर्नेछन् । यस अघि त्रिशूली जलविद्युत कम्पनीले उक्त कार्यक्रमअन्तर्गत आईपीओ विक्री गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले लागू गरेको न्यूनतम १० कित्ता आवेदन दिन पाउने व्यवस्था बमोजिम यी दुवै कम्पनीले यसअघि आह्वान गरेको न्यूनतम ५० कित्ताको व्यवस्थालाई परिवर्तन गरेका हुन् । दुवै कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता आवेदन गर्न सकिनेछ ।

साञ्जेनले कुल ५४ लाख ७५ हजार कित्ता आईपीओमध्ये २ लाख ७३ हजार ७५० कित्ता शेयर म्युचुअल फण्डहरुलाई बाँडफाँड गरी २ लाख १९ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई संरक्षणपश्चात वाँकी रहेको ४९ लाख ८२ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

त्यस्तै रसुवागढी हाइड्रोपावरले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता आईपीओ मध्य ४ लाख १३ हजार १५७ कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरेको छ भने ५ लाख १३ हजार १५७ कित्ता म्युचुअल फण्डहरुलाई बाँडफाँड गरी वाँकी रहेको ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो । यी दुवै कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट चैत १० गते स्वीकृति पाएका थिए ।

प्रतिकित्ता न्यूनतम मूल्य रू. १०० रहेको रसुवागढीको आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म र साञ्जेनको न्यूनतम १० देखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । दुवै कम्पनीको शेयर छिटोमा वैशाख १० र ढिलोमा जेठ ५ गतेसम्म विक्रीमा रहने छ ।

रसुवा जिल्लामा साञ्जेनले १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२.५ मेगावाट क्षमताको साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । त्यस्तै रसुवागढी आयोजनाको क्षमता १११ मेगावाट छ । यी आयोजना चिलिमे जलविद्युत कम्पनी अन्तर्गत निर्माण भईरहेका आयोजना हुन ।

साञ्जेन र रसुवागढी जलविद्युत कम्पनीका आयोजनाको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको कम्पनीले जानकारी दिएको छ । रसुवागढीको निर्माणाधित आयोजनको प्रतिमेगावाट लागत रू. १५ करोड १२ लाख २४१ रहेको छ । भने साञ्जेनको दुवै आयोजनाको प्रतिमेगावाट लागत रू. १५ करोड रहेको छ ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology