काठमाडौं–शिवम् सिमेन्टले फागुन ६ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले यस अगाडि निर्धारण गरेको प्रिमियम मूल्य घटाएको छ । शिवम्ले सर्वसाधारणका लागि प्रति शेयर ३ सयका दरले ४१ लाख २० हजार कित्ता र आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि प्रति शेयर २ सयका दरले ५ लाख ७९ हजार ६ सय ८० कित्ता शेयर निष्काशन गर्ने जनाएको छ ।
जसअनुसार आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि प्रति शेयर १ सय रुपैयाँमा १सय रुपैयाँ प्रिमियम सहित २ सय रुपैयाँ र सर्वसाधारणको लागि प्रति शेयर १सय रुपैयाँमा २ सय रुपैयाँ प्रिमियम सहित ३ सय रुपैयाँमा शेयर निष्काशन गर्नेछ ।
कम्पनीले सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था मार्फत तथा मेरो शेयर प्रयोग गरेर समेत आवेदन दिन सकिने जनाएको छ । कम्पनीले छिटोमा फागुन ६ गतेदेखि ढिलोमा चैत्र ५ गतेसम्म आइपिओ निष्काशन गर्ने जनाएको छ ।
गत आर्थिक वर्षमा १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको कम्पनीको प्राथमिक शेयर निष्काशन अगाडिको चुक्ता पूँजी ३ अर्ब ८२ करोड रुपैयाँ छ । त्यसैगरी जगेडा कोष ९७ लाख ९८ हजार रुपैयाँ ऋणात्मक छ । यस आधारमा कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ रहेको छ ।
सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सीमा २६.४ प्रतिशत लगानी गरेको शिवमले होङ्सीको आम्दानी आउन थालेपछि भने प्रतिशेयर आम्दानीमा सुधार हुँदै जाने जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij