२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उदयपुर सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन

उदयपुर सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन

805
Shares

गाईघाट -पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि ऐतिहासिक रूपमा पहिलो पटक पूर्णक्षमतामा सिमेन्ट उत्पादन कार्य शुरु गरेको छ ।

प्रतिदिन आठ सय मेट्रिकटन सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता रहेको उद्योगले एक हप्तादेखि पूर्ण क्षमतामा आठसय मेट्रिक टन (प्रतिदिन झण्डै चालीस हजार बोरा) सिमेन्ट उत्पादन कार्य शुरु गरेर सिमेन्ट उत्पादनमा उद्योगले नयाँ रेकर्ड कायम गरेको उद्योग प्रशासनले बताएको छ ।

उदयपुर जिल्लाको जलजलेमा २८ वर्षअघि जापान सरकारको सहयोगमा स्थापना भएको सो उद्योगले स्थापना कालदेखि प्रतिदिन पाँचसय पचास देखि छ सय मेट्रिकटनसम्म मात्र सिमेन्ट उत्पादन गर्दै आएको थियो ।

लोडसेडिङ तथा प्राविधिक समस्याका कारण सोचे जस्तो सिमेन्ट उत्पादन हुन नसके पनि गत वर्षदेखि केही समस्या समाधान गरेर उद्योगले ७०० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन शुरु गरेको महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल बताए ।

विस्तारै उद्योगमा विद्युतदेखि प्राविधिक कुरामा सुधार हुँदै गएपछि केही दिन अघिसम्म उद्योगले ७६० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता बनाएको थियो । एक हप्ता यता उद्योगमा पूर्ण क्षमतामा ८०० मेट्रि«कटन सिमेन्ट उत्पादन कार्य शुरु भएको महाप्रबन्धक पौडेलले बताए ।

दुई वर्ष अघिसम्म घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षदेखि वार्षिक रु ३५ करोड आर्थिक आम्दानी गर्न थालेको पनि उद्योग प्रशासनले बताएको छ । अब निरन्तर पूर्ण क्षमतामा सिमेन्ट उत्पादन हुने हो भने उद्योगले बार्षिक अर्बौं रुपैयाँ आम्दानी गर्ने पनि महाप्रबन्धक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij