२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिक्टामा साढे आठ अर्ब भ्रष्टाचार

सिक्टामा साढे आठ अर्ब भ्रष्टाचार

1.8K
Shares

काठमाडौं – बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनामा आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। पाण्डे आयोजना निर्माण गर्ने जिम्मा पाएको सिटिसिई कालिका कन्स्ट्रक्सन कम्पनीका प्रमुख एवं  राप्रपा नेतासमेत हुन्।

आयोगले राष्ट्रिय गौरवको उक्त आयोजनामा ८ अर्ब ५९ करोड ८८ लाख रुपैयाँबराबरको आर्थिक अनियमितता भएको ठहर गर्दै पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा चलाएको हो।

सिटिसिई कालिका कन्स्ट्रक्सन कम्पनीले सिक्टाको पश्चिम खण्डको ४५ मध्ये ४२ किलोमिटर मूल नहर निर्माण गरेको हो।

मूल नहर निर्माणपछि परीक्षणका क्रममा  पटकपटक भत्केको छ। बाँकेको अगैयामा बाँध निर्माण गरी राप्ती नदीको ५० क्युमेक्स पानी अटाउने गरी बनाइएको मूल नहर ४/५ क्युमेक्स पानी पठाउँदा नै भत्कन थालेपछि आर्थिक अनियमितताको आशंका गरिएको थियो। नहर निर्माणमा अनियमितता भएको देखिएपछि नागरिक दैनिकले निरन्तर रूपमा समाचार सम्प्रेषण गर्दै आइरहेको छ।
आयोगको आरोपपत्रमा सिक्टाको मूल नहर भत्किएको, डिजाइनमा त्रुटि भएको तथा निर्माण क्रममा खटिएका प्राविधिक, कन्सल्टेन्ट र निर्माण व्यवसायीले सुपरभिजन नगर्दा गुणस्तरीय काम हुन नसकेको उल्लेख छ। नहर भत्कँदासमेत आयोजनाका कर्मचारीले निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको अनुसन्धानको क्रमबाट खुलेको आयोगले जनाएको छ।

नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij