
अर्थ नेपाल संवाददाता
काठमाडौं/ मंगलबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुखका साथै विकास साझेदारलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर आफ्नो सरकारका ६ प्राथमिकताका बारेमा बताएका छन् ।
बालुवाटारमा भएको छलफलमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली नागरिक विदेशीका गोप्य एजेन्डाबाट शोषित हुन नहुने बताए। ‘हाम्रो समाजमा हिंसाको लागि कुनै स्थान छैन। हाम्रो सामाजिक एकता र सद्भाव बिगार्ने कुत्सित मनसायले विभिन्न पक्षबाट यस्ता प्रयास हुनसक्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा नागरिक गोप्य एजेन्डाबाट शोषित नहुन् भन्ने चाहन्छौं। हामीलाई विभाजित पार्न खोज्ने र अस्थीरता निम्त्याउने तत्वलाई हराउन हामी एक भएर लाग्नेछौं।’ प्रधानमन्त्री ओलीले पछिल्लो एक दशकमा नेपाली समाज तीव्र रुपान्तरण भइरहेको र त्यो राजनीतिमा मात्र नभएर समाजका अन्य क्षेत्रमा पनि महशुस भएकोे बताए।
सरकारका ६ प्राथमिकता
पहिलोः सार्वभौमसत्ता
प्रधानमनत्री ओलीले सरकारको पहिलो प्राथमिकता सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हितहरुको संरक्षण भएको बताए ।
नेपाल कुनै पनि बाहृय देशको उपनिवेश नरहेको र सार्बभौमसत्ताको आफ्नो इतिहास रहेको भन्दै उनले भने, यो सरकार राष्ट्रिय हितहरुको संरक्षण गर्न प्रतिवद्ध छ । यसमा कुनै सम्झौता हुँदैन ।’
दोस्रोः लोकतन्त्रप्रति प्रतिवद्ध
कूटनीतिज्ञहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिवद्ध रहेको बताए ।
लोकतन्त्रका लागि आफूहरुले लामो राजनीतिक संघर्ष गरेको भन्दै उनले भने, ‘लोकतन्त्र अपरिहार्य छ र यसलाई कसैले खोस्न सक्दैन ।’
तेस्रोः सामाजिक न्याय र समानता
प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताविना दिगो विकासको कल्पना गर्न नसकिने बताए । समाजका हरेक तहतप्काका मानिसहरुलाई समान संरचना र उनीहरुको क्षमता अनुसार अवसर दिइने भन्दै उनले भने, ‘हाम्रो समाज विविधतायुक्त छ र यो नै नेपाली समाजको विशेषता हो ।’
संविधानले कसैमाथि पनि विभेद नगरेको र राज्यले आफ्ना नागरिकको मौलिक अधिकार संरक्षण गर्ने बताए ।
चौथोः स्थिरता
स्थिरता र विकास सरकारको प्राथमिकतामा रहेको भन्दै उनले त्यसलाई खलल पुर्याउने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए । प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो समाजमा हिंसाका लागि कुनै स्थान छैन ।’
विभिन्न बहानामा सामाजिक सद्भाव र एकता खलबल्याउने प्रयास भइरहेको भन्दै उनले भने, यस्ता तत्वहरु पनि छन्, जसले नेपालमा द्वन्द्व र कलह भइरहोस् भन्न चाहन्छन् ।’ युरोपेली युनियनतर्फ संकेत गर्दै उनले सार्वभौमसत्ता जनता निहीत रहेको र उनीहरुले मात्र आफ्ना संवैधानिक र राजनीतिक मुद्दामा निर्णय गर्न सक्छन् ।’
पाँचौंः सुशासन
सरकार सुशासनप्रति प्रतिवद्ध रहेको र सरकारको नीति तथा कार्यक्रमलाई यसले नै निर्देशित गर्ने उनले बताए । प्रधानन्त्री ओलीले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीति लिने पनि बताएका छन् ।
छैटौंः जनताको आकांक्षा सम्बोधन
लामो राजनीतिक संक्रमणकाल अन्त्य भएको भन्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको एक मात्र ध्येय जनताको इच्छा आकांक्षा पूरा गर्दै समावेशी र दिगो विकास हासिल गर्नु भएको बताएका छन् । उनले भने, ‘हाम्रो राजनीतिक परिर्वतनलाई टिकाई राख्न द्रुत आर्थिक विकास गर्ने चाहना छ ।’
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij