२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एशियाली खेलमा प्याराग्लाइडिङ समाबेश हुने, पोखरामा तयारी सुरु

एशियाली खेलमा प्याराग्लाइडिङ समाबेश हुने, पोखरामा तयारी सुरु

1.4K
Shares


अर्थ नेपाल संवाददाता
पोखरा/इण्डोनेशियाको जर्कातामा आयोजना हुने १८ औं एशियाली खेलकुदमा प्याराग्लाइडिङ खेल समावेश हुने भएपछि पोखरेली प्याराग्लाइडिङ खेलाडी तथा यसमा संलग्नहरु उत्साहित भएका छन । एशियाली खेलमा पहिलो पटक समावेश हुन लागेको शाहसिक खेल प्याराग्लाइडिङ आमन्त्रित खेलका रुपमा रहने नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावलले जानकारी दिएका छन ।
एशियाली खेलमा नेपाल बाट प्याराग्लाइडिङ बाट दुइ वटा इभेन्टमा १० जना खेलाडीको सहभागिता रहने महासचिव रावलले बताए । प्याराग्लाइडिङको इन्डिभिजुअल एकुरेसी, टिम एकुरेसी र टिम क्रस कन्ट्री प्रतिष्पर्धाका लागि कुल १० जना खेलाडीले एशियाली खेलमा सहभागिता जनाउने छन । अन्तिम खेलाडी छनौटका लागि चैत १३ र १४ गते टिम एक्युरेसी इभेन्टमा प्रतिष्पर्धा गराइन लागिएको समेत उनले बताए । उक्त प्रतिष्पर्धाको निरिक्षण गर्न युवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्मा १४ गते पोखरा आउने कार्यक्रम रहेको महासचिव रावलले बताए । उनले टिम क्रस कन्ट्रीमा विश्वमा टप टेन भित्र नेपालमा नै ६ जना खेलाडी समेत रहेको बताए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्टले एशियाली खेलमा प्याराग्लाइडिङ खेलमा नेपालले सहभागिता जनाउने बताए । “हामीले कम्तिमा १७ र वढीमा २१ खेलमा सहभागिता जनाउने बारे नेपाल ओलोम्पिक कमिटीमा पत्राचार गरेका छौ” उनले भने–“हामी अनावश्यक खर्च हुने गरि टूलो भिड भन्दा पनि परफरमेन्सको आधारमा सकेसम्म मेडल ल्याउने नभए टप टेन भित्र पर्ने गरि तयारी गरेका छौं ।” प्याराग्लाइडिङ खेलका माध्यम बाट नेपाललाई विश्वमा परिचित गराउन पनि यो सहभागिता विशेष रहने बताउँदै उनले प्याराग्लाइडिङ बाट मेडल पाउनेमा आफु आशाबादी समेत रहेको बताए ।
एशियाली खेलमा ४५ देशले सहभागिता जनाउने भए पनि प्याराग्लाइडिङ तर्फ ३० भन्दा वढी देशको सहभागिता रहने अपेक्षा गरिएको छ । हाल प्याराग्लाइडिङ खेल पोखरा, स्याङजा, धरान र सुर्खेत हुने गरेको छ । पोखरामा मात्रै ६० भन्दा वढी प्याराग्लाइडिङका व्यवसायिक कम्पनीहरु रहेका छन भने नेपालमा ५०० जना खेलाडीहरु आवद्ध रहेके संघका सचिव इन्द्र भण्डारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij