
परिवर्तित जीवनशैली र स्वास्थ्यमा ध्यान नदिँदा कैयौँ प्रकारका स्वास्थ्य समस्या निम्तिछन् । त्यसमा पनि हेपाटाइटिस बी एउटा यस्तो रोग साबित भएको छ, जसलाई एड्सभन्दा पनि खतरनाक मान्न थालिएको छ । विश्व स्वास्थ्य संगठनको अनुसन्धानअनुसार विश्वमा एड्सभन्दा बढी मानिसको मृत्यु हेपाटाइटिस बीका कारण भइरहेको छ । शरीरमा एचबिभी भाइरस फैलिएपछि यो रोग लाग्ने गर्छ । वा, संक्रमित मानिसको रगत लिँदा वा इन्टरकोर्स गर्दा पनि यसको भाइरस फैलने गर्छ । यसले बिस्तारै कलेजो फेल र क्यान्सरको पनि रूप लिन थाल्छ । यसबारे हेमेटोलोजिस्ट डा. जयश्री साहले बताएका छन् :

के हो हेपाटाइटिस बी ?
हेपाटाइटिस बी एक भाइरस हो, जसले कलेजोमा संक्रमण गर्छ । पहिला सामान्य लाग्छ तर यसले बिस्तारै विकराल रूप लिँदै जान्छ । जसलाई एक्युट हेपाटाइटिस पनि भनिन्छ ।
कहिलेकाहीँ संक्रमण लामो समयसम्म रहन सक्छ । यसलाई क्रोनिक हेपाटाइटिस बी भनिन्छ । यसले लामो समयसम्म संक्रमित त पार्छ नै, यसका साथै कलेजोमा पनि क्षति पु-याइरहेको हुन्छ । भाइरस संक्रमित आमाबाट जन्मने शिशुमा क्रोनिक हेपाटाइटिस बी हुने अत्यधिक सम्भावना हुन्छ ।
अचम्मको कुरा के छ भने हेपाटाइटिस बी छ भन्ने कुरा लामो समयसम्म तपाईंलाई थाहा नै नहुन सक्छ । किनकि, यसको लक्षण नदेखिने सम्भावना बढी हुन्छ । या, देखिए पनि सामान्य फ्लुको हुन्छ । हेपाटाइटिस बी एक्युट र क्रोनिक गरी दुई प्रकारका हुन्छन् ।
लक्षण
लगातार थकाइ लाग्छ र महिनौँसम्म कमजोरीको महसुस हुन्छ ।
पेट मिच्ने र पटक–पटक उल्टी आउने समस्या हुन्छ ।
पेट मचमचाउने र सुन्निने समस्या हुन्छ ।
नियमित टाउको दुख्ने गर्छ ।
जोखिम
हेपाटाइटिस बीको भाइरस संक्रमितको रगत अन्य व्यक्तिमा सार्दा यो रोग लाग्ने गर्छ ।
संक्रमित महिलासँग कन्डमको प्रयोगविना शारीरिक सम्पर्क राख्दा पनि हेपाटाइटिस बी लाग्छ ।
संक्रमित व्यक्तिले प्रयोग गरेको इन्जेक्सन निर्मलीकरण नगरी प्रयोग गर्दा यो रोग सर्ने गर्छ । त्यसैले जहिले पनि नयाँ इन्जेक्सनको मात्र प्रयोग गर्नुपर्छ ।
संक्रमित व्यक्तिले प्रयोग गरेको टुथब्रसजस्ता सामग्री पनि प्रयोग गर्नुहुँदैन । यसो गर्दा पनि हेपाटाइटिस बी लाग्ने गर्छ ।
संक्रमित आमाबाट जन्मिएको बच्चामा पनि हेपाटाइटिस बी भाइरस सर्न सक्छ । त्यसैले सबै गर्भवती महिलाले हेपाटाइटिस बीको अनिवार्य परीक्षण गर्न आवश्यक हुन्छ ।
हग, चुम्बन गर्दा, खोक्दा या साझा पेय पदार्थको प्रयोग गर्दाचाहिँ यो रोग सर्दैन ।
बच्न
शारीरिक सम्पर्क राख्दा जहिले पनि कन्डमको प्रयोग गर्न आवश्यक हुन्छ ।
एकपटक प्रयोग भएको इन्जेक्सन पुनः प्रयोग गर्नुहुँदैन ।
टुथब्रस, रेजरजस्ता सामग्रीको साझा प्रयोग गर्नुहुँदैन ।
सकेसम्म ट्याटु खोप्ने गर्नुहुँदैन । यदि खोपिहाले पनि विशेष ध्यान दिन जरुरी हुन्छ ।
भ्याक्सिन हेपाटाइटिस बीको संक्रमण रोक्ने सबैभन्दा प्रभावकारी उपाय हो । यो लागिसकेपछि ३–४ वटा इन्जेक्सन लगाउनुपर्छ । यसले हेपाटाइटिसविरुद्ध ९५ प्रतिशत काम गर्छ ।
भ्याक्सिनले २० वर्षसम्म सुरक्षा प्रदान गर्छ ।