
मानिसका आ-आफ्नै सौख हुने गर्छन्। सौख अनुरुप मानिसका प्राथमिकता समेत फरक हुन्छन्। आम नेपालीका लागि कार बिलासीको साधानकै रुपमा पर्ने गर्छ। तर केहि नेपालीका लागि भने कार दैनिक आवश्यकताको साधन बनिसकेको छ। तर संसारमा केहि यस्ता कार बनेका छन् जुन जस्तोसुकै धनाड्यले पनि बिलासीको साधनका रुपमा हेर्ने गर्छन्।
विलासी र सौखिनहरुका लागि विश्वमा धेरै प्रकारका सुविधा सम्पन्न कारहरु छन्। यिनमा प्रयोग भएका अत्याधुनिक प्रविधि र सेवा सुविधाले कारलाइ विलासी बनाएका हुन्।
यी ५ गाडीहरुलाई संसारभर बिलासीका रुपमा अगाडि मानिन्छ। यिनको मूल्य २ लाख देखि ५ लाख डलरसम्म रहेका छन्।
१.मर्सिडिज मेब्याच एसक्लास पुलम्यान

यो मर्सिडिजको ‘लिमिटेड एडिसन’ कार हो। कार ‘लिमो’ आकारको छ। ‘एक्सटेन्डेड ह्विल बेस’ ले गर्दा कारको भित्री भाग फराकिलो देखिन्छ। यसको ‘इन्टेरियर’ मा लेदर सिट, आर्कषक तथा आरामदायी सिरानी भएको यो कार लामो दुरीको लागि उपयुक्त हुने बताइएको छ।
यसमा भएको यात्रु सिटलाई आवश्यक्ता अनुसार फोल्ड गरेर सुत्न मिल्ने बेडका रुपमा प्रयोग गर्न मिल्ने सुविधा दिइएको छ। त्यसैले यो कार मात्र नभइ ‘घर’ पनि भएको कम्पनीको भनाइ छ। यसको मूल्य ५ लाख ६७ हजार अमेरिकी डलर छ।
२.फरारी क्यालिफोर्निया टी

फरारीको क्याफिोर्निया मोडलको १० हजार भन्दा बढी विक्री भएको कार हो। यस मोडलको आर्कषण बढेपछि कम्पनीले यसै सिरिजलाई नयाँ रुप दिने नयाँ संस्करणमा ‘क्यालिफोर्निया टी’ ल्याएको हो।
यस मोडलको कारमा नयाँ ‘टर्बो चार्ज’ इन्जिनका साथ लोभलाग्दो गति र ‘फेन्सी लुक’ छ। क्यालिफोर्निया सुपर कार मात्र नभई फुल प्याकेज लक्जरी कार हो। कारको मूल्य २ लाख डलरबाट सुरु हुन्छ।
३. ल्याण्ड रोभर एसभी अटोबायोग्राफी

झट्ट हेर्दा ल्याण्ड रोभर एसभी अटोबायोग्राफी पनि अरु ल्याण्ड रोभरका मोडल जस्तै देखिन्छ तर यो कार अन्य भन्दा नितान्त फरक रहेको कम्पनीको दाबी छ।
यो कारको स्पेस धेरै भएकोले कार्यालय प्रयोजनका रुपमा पनि प्रयोग गर्न मिल्ने कम्पनीकोे दाबी छ। यो कारको डिजल इन्जिनमा ४३६७ सिसी क्षमता र ८ गियरको स्पिड रहेको छ। ८ सिलिन्डर सहितको यो कारमा ७ सय ४० एनएम टर्क पावर दिइएको छ।
त्यस्तै पेट्रोल इन्जिनको क्षमता ५००० सिसी छ। यस कारमा ८ गियरको स्पिड र ८ सिलिन्डर प्रयोग गरिएको छ। यस भेरियन्ट इन्जिनमा ६२५ एनएम टर्क पावर रहेको कम्पनीले जनाएको छ।
यस गाडीमा यात्रुको मनोरन्जनका लागि १०.२ इन्चको एलसिडी डिस्प्ले राखिएको छ। लामो दुरीको यात्राका लागि उपयुक्त मानिएको यस कारमा फोल्ड गर्न मिल्ने बनाउनका लागि ‘वर्क डेस्क’ को समेत सुविधा दिइएको छ।
गाडीमा यात्रुको सिटको बीचमा कुलर सिस्टम जडान गरिएको छ। ‘ल्याण्ड रोभर एसभी अटोबायोग्राफी’ मा उच्चस्तरीय इन्जिन लगायतका अन्य बिलासी सुविधाहरु दिइएको छ।
४. बेन्टले मस्लेन

५०५ हर्सपावर इन्जिन शक्ति रहेको मस्लेनमा खरिदकर्ताले विभिन्न २५ रंगका इन्टेरियर लेदर र २२ फरक रंगका कार्पेट छान्न पाउने सुविधा रहेको छ। यो कारको ढोका खोलेर भित्र छिर्दा लेदरको महलमा छिरेको महसुस हुने एजेन्सीहरुले दाबी गरेका छन्।
यसमा ६.७५ लिटर दुई वटा टर्बो इन्जिन रहेको छन् जसमा ८ गियर स्पिड दिइएको छ। यसमा ‘क्वाड जोन एयर कन्डिसन कन्ट्रोल सिस्टम’ पनि जडित छ। यसले वाह्य हावापानीको मौसमी प्रभाव नियन्त्रण गर्न मद्दत पुग्ने कम्पनीले जनाएको छ।
यस कारमा लामो यात्रा गर्दा पनि थकान महसुस नहुने किसिमको सहज सिटहरु प्रयोग गरिएको एजेन्सीहरुले जनाएका छन्। यसमा प्यासेन्जर सिटको लागि १०.२ इन्चको फोल्डिङ टेबल जडान गरिएको छ।
यस कारका केहि फिचर ट्याबलेटबाट समेत सञ्चालन गर्न सकिने बताइएको छ। यसमेत ‘ब्लाइन्ड स्पट वार्निङ’ जस्ता विभिन्न सुविधा दिइएको यस कारमा ‘स्पेस’ पनि ठूलो छ। यो कार प्रति ५.५ सेकेण्डमा ६० किमिको स्पिडमा गुड्न सक्ने बताइएको छ। यो बिलासी कारको मूल्य ३ लाख ४ हजार अमेरिकी डलर छ।
५.रोल्स रोयस डान

रोल्सले निर्माण गरेकोे ‘डान’ कारलाई कम्पनीले अहिलेसम्मकै ‘सेक्सीएस्ट रोल्स एभर बिल्ट’ भनेको छ। कारमा चार वटा सिट छन्।
ऐजेन्सीहरुले जनाए अनुसार मौसम अनुसार डानको छत खोल्न र बन्द गर्न मिल्छ। यसको ‘इन्टेरियर’ डिजाइनमा काठ र छालाको प्रयोग अधिक मात्रामा गरिएको छ। यसमा पछिल्लो सिटका लागि २ वटा मोनिटर पनि दिइएको छ।
यो कारको चार वटै चक्कामा अटोमेटिक ब्रेकिङ सिस्टम (एबिएस) जडान गरिएको छ। डानमा ६.६ लिटर टर्बो चार्ज, १२ सिलिन्डर इन्जिन प्रयोग गरिएको छ। यसमा ५६३ हर्सपावरको इन्जिन क्षमताका साथै ८ वटा ट्रान्समिसन गियर स्पिड समावेश गरिएको छ। यो सुन्दर कारको मूल्य ३ लाख ५० हजार अमेरिकी डलर छ।
(एजेन्सीहरुको सहयोगमा) सेतोपाटीबाट साभार
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij