
अर्थ नेपाल संवाददाता
काठमाडौं/प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पराजय भोगेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस भित्र फेरी आन्तरिक किचलो बल्झीएको छ । विभिन्न गुट र उपगुटमा विभाजित कांग्रेसमा धुर्विकरणको क्रमसमेत तिब्र बनेको छ । १३ औं महाधिवेशनमा छुट्टै प्यानल खडा गरेर चुनाव लडेका पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुह वरिष्ठ नेता रामचन्द्र पौडेल समुहसंग नजिकिए पछि धुर्विकरण सतहमा देखिएको हो । यद्यपी सिटौला समुहले पौडेल समुहसंग गुटकै एकिकरणलाई भने अस्वीकार गरेको छ ।
सिटौला र पौडेल समुहको गतिविधि सभापति शेरबहादुर देउवा माथि प्रहार गर्न नजिकिएको प्रष्ट छ । केहि समय यता कांग्रेस भित्र गुटका भेला र बैठकहरु तिब्र बनेका छन् । गत साता आयोजित सिटौला समुहको भेलामा सभापति देउवा माथि खुलेरै आलोचना भयो भने पौडेल समुहको भेला पनि देउवा लक्षित थियो । दुवै समुहको आरोप देउवाको कार्यशैलीले गर्दा पार्टीले पराजय भोग्नु परेको भन्ने छ । दुवै समुह बामगठबन्धनका कारण पार्टी पराजय भएको तथ्य स्वीर्कान समेत चाहादैनन् । यसले के प्रष्ट हुन्छ भने पौडेल समुह र सिटौला समुह निर्वाचनमा पराजय भएको बहाना बनाएर देउवा माथि हमाला गर्न चाहान्छन् ।
सिटौला भन्छन्–‘देउवाको गलत निर्णय र कार्यशैलीले गर्दा नै पार्टीले पराजय भोग्नु परेको हो । आफ्नो समुहको भेला लगतै सिमित सञ्चारकर्मी माझ प्रस्तुत भएका सिटौलाले पार्टीको सहि नेतृत्व आफ्नो समुहले मात्रै गर्न सक्ने दावी गरे । उनले पौडेल समुहको अस्तित्व समेत समाप्त भएको बताए । सभापति विरुद्ध आक्रामक देखिएका सिटौलाले विगतमा गरेको सहयोग स्मरण गरे । उनी भन्छन् –‘विगतमा हाम्रो समुहले देउवालाई खाली चेक दिएर सहयोग ग¥यो ।’ आफ्नो समुहका नेताहरु गगन थापा, उमाकान्त चौधरी, प्रदीप पौडेल र भिमसेन दास प्रधानलाई दायाँबायाँ राखेका सिटौलाले पार्टीलाई सहि दिशामा ल्याउन देशव्यापी अभियानमा निस्कने घोषणा गरे ।
कांग्रेसका युवा नेता गगन थापाले पनि सभापतिको आलोचना गरे । कांग्रेस सुुध्रिनुको विकल्प नभएको उनको दावी थियो । सार्वजनिक समारोहमा उनले सिटौलालाई दरिलो भएर उभिन आब्हान गरे । नेता प्रदीप पौडेलले पौडेल समुहसंग नजिकिने संकेत गर्दै छिट्टै नयाँ घटनाक्रम विकास हुने बताए । सिटौलाले आफुहरु सभापति विरुद्ध दरिलो ढंगबाट प्रस्तुत हुने बताइरहँदा भखर्रै सम्पन्न कांग्रेस संसदीय दलको निर्वाचनमा देउवालाई मत दिएका नेता भिमसेन दास प्रधान मौन थिए । उक्त निर्वाचनमा सिटौला समुहका तिन सांसद मध्य प्रधानले देउवालाई मत दिएका थिए भने चौधरी र थापाले प्रकाशमान सिंहलाई मत दिएका थिए । सिटौला समुहमा देउवाको समुहबाट महामन्त्रीका उम्मेदवार
बनेका अर्जुननरसिंह केसी थपिएका छन् ।
यता देउवा पक्षका नेताहरु भने दुवै समुह मिलेर आएपनि सभापति कमजोर नहुने बताउँछन् । बामगठबन्धन कै कारण पार्टी पराजित हुन पुगेको दावी गर्दै देउवा माथिको लाञ्छनाको कुनै तुक नहुने उनीहरुको भनाई छ । नुवाकोटमा कोषाध्यक्षहरुको भेलामा देउवा निकट नेता विमलेन्द्र निधिले पुर्ननिर्वाचन गराए पनि देउवा नै विजयी हुने दावी गरे । उनले सभापति माथिको आरोप र आलोचनाको अर्थ नहुने पनि बताए । सोहि भेलामा देउवा निकट अर्का केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले पनि सभापतिको बचाउ गरेका थिए ।
यता पौडेल समुह थप कमजोर देखिएको छ । महामन्त्री शंशाङ्क कोइरालासहितको समुहले संसदीय दलको निर्वाचनमा देउवालाई मत दिइएको बताइन्छ । उक्त समुहसंग भएको भनिएको भन्दा कम मत प्रकाशमान सिंहले ल्याए पछि पौडेल समुहमा पहिरो गएको विश्लेषण गरिएको छ ।
कांग्रेसमा महासमिति बैठकको माग हुँदै आएको छ । कतिपयले विशेष महाधिवेशन हुनु पर्ने धारणा राख्दै आएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij