
अर्थ नेपाल संवाददाता
काठमाडौं/चितवन अटोमोबाइल डिलर्स एसोसिएसनले छैठौं हिमालयन ड्राइभ त्रिदेशीय मोटर र्यालीको चितवनमा स्वागत गरिएको छ। र्यालीमा नेपाल, भारत र भुटानका प्रतिस्पर्धी सहभागी रहेका छन्।
स्वागत कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, रत्ननगर नगरपालिकाका अध्यक्ष एवं रेवानका केन्द्रीय उपाध्यक्ष राजन भट्ट, एसोसिएसनका अध्यक्ष ईश्वरकुमार श्रेष्ठ, सचिव ईन्द्र रेग्मी लगायतले स्वागत गरेका थिए।
भारतको जस्ट स्पोर्ट्ज म्यानेजमेन्ट र नेपाल अटो मोबाइल्स स्पोर्ट्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटर स्पोर्ट्स क्लबको आयोजनामा र्याली भएको हो। त्रिदेशीय खेल पर्यटनको विकास गर्ने उद्देश्य सहित भारतको सिलगुडीबाट छौठौँ संस्करणको हिमालयन ड्राइभ मोटर र्याली शुक्रबार देखि सुरु भएको थियो। र्याली भारतको सिलिगुडी हुदैँ नेपालको चितवन सौराहा आएको थियो।
र्यालीले १६ सय ५० कि.मी दुरी पार गर्नेछ। प्रतिस्पर्धामा नेपालको ४ टिम सहित भारत र भुटानका गरि ४२ वटा कार सहभागी भएका छन्।
प्रतिस्पर्धामा पहिलो हुनेले भारतीय एक लाख रुपैयाँ, दोस्रो हुनेले ७५ हजार रुपैयाँ र तेस्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यो र्याली भारतको पश्चिम बंगालका डुवर्स र दार्जिलिङ पहाड हुँदै नेपाल र भारतका विभिन्न स्थानमा पुग्ने बताइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij