कृष्ण दाहाल
प्रबन्ध निर्देशक
मल्टी कार क्रियशन प्रा.लि.
नेपालमा सडक सञ्जालको विस्तारसगैं यातायातका साधनहरुको प्रयोग बढ्दो क्रममा रहेको छ । यो सगैं यससंग सम्बन्धीत विभिन्न व्यवसायहरु पनि बढि रहेको छ । चारपांग्रे गाडीहरुको सजावटका सामग्रीहरुको व्यवसाय गर्दै आएका कृष्ण दाहाल अहिले व्यवसायको क्षेत्रमा आफ्नो पहिचान बनाएका छन् । संघर्षका विभिन्न चरणहरु पारगर्दै आज सफल व्यवसायीको रुपमा आफुलाई स्थापीत गराउन दाहाल सफल भएका छन् । आजको दिनसम्म आइपुग्न हुनले धेरै संघर्ष गरेका छन् । राजधानीको बागबजारबाट डिजिटल नम्बर प्लेट राख्ने कामबाट जागिरे जिवन सुरु गरेका दाहाल अहिले कार सजावट सम्बन्धी सामानहरुको व्यवसाय गरिरहेका छन् । नेपालमा भर्खर डिजिटल नम्बर प्लेट राख्न सुरु भएकोले उनले जागिर खाएको केहि समयपछि काठमाडौंको कुलेश्वरमा आफ्नै नम्बर प्लेट राख्ने व्यवसाय गर्न थाले । आफ्नो व्यवसायले गति लिन थालेपछि उनले अटो क्षेत्रमा आफ्नो भविष्य देख्न थाले । यहि क्षेत्रमा केहि गर्ने प्रणका साथ २०५८ सालबाट गाडी सजावटका सामग्रीहरुको व्यवसाय गर्न थाले र सफल हुँदै गए । आजको दिनसम्म आइपुग्नुको मुख्य कारण मेहनत, इमान्दारिता नै भएको दाहाल बताउँछन् । जीवनमा सधै मेहनत गर्नु पर्ने उनको मान्यता छ । व्यवसायमा आउने उतार चढावमा हरेस नखाई अघि बढेको खण्डमा मात्र सफलता पाइने उनको विश्वास छ । प्रतिस्पर्धात्मक व्यवसायमा पनि उनले आफ्नो कम्पनिलाई राम्रोसंग सञ्चालन गरिरहेका छन् ।

सानोमा बुबाले जागिर खाएको देखेर जागिर खाने सपना देखेका दाहाल जब एसएलसी पास भएर काठमाडौं प्रवेश गरे तब जीवनले नयाँ मोड लियो । सिन्धुलीमा जन्मेका दाहाल पाँच वर्षको हुँदा बुबासगैं भारत गएका थिए । करिब १० वर्ष भारतमा विताएका उनले माध्यामिक शिक्षा सिन्धुलीबाट पुरा गरे । जब उनी काठमाडौं आए दैनिकी चलाउनका लागि आर्ट पसलमा काम सुरु । देशमा द्वन्द्वको कारण गाउँमा बस्न नसकेको दाहाल बताउँछन् ।
अटो क्षेत्रमा भविष्य राम्रो भएको दाहाल बताउँछन् । यो क्षेत्रसंग सम्बन्धीत व्यक्ति कहिले पनि भोक्कै बस्न नपर्ने दाहाल दावी छ । अटोसंग सम्बन्धीत कुनै ज्ञान नभएपनि लगातारको मेहनत, परिश्रमको कारण आज अटो क्षेत्रमा सफल हुन सकेको दाहालले अनुभव सुनाए । सजावटका सामान सुरक्षा र राम्रोको लागि प्रयोग गर्ने गरेको दाहाल बताउँछन् । भारत, चिन तथा तेस्रो मुलुकबाट आउने समानमा ढुवानीमा समस्या नभए अझ व्यवसाय गर्न सहज हुने अपेच्क्षा राख्दछन् ।
उनले जीवनलाई संघर्षका रुपमा बुझेका छन् । हिजो आर्टको काम गर्दा हेप्ने व्यक्ति आज मिल्ने साथी भएको अनुभव सुनाए । व्यवसाय गर्दाका हरेक चुनौतिलाई पार गर्दै आफ्नो व्यवसाय सञ्चालन गरिरहेका दाहाल राज्यलाई कर तिरे अनुसारको सेवासुविधा दिनु पर्ने मान्यता राख्दछन् । व्यवसायमा स्वस्र्थ प्रतिस्पर्धा गर्न सबैलाई आग्रह गर्दछन् । अटो क्षेत्रमा आउने नयाँ पुस्तालाई सिकेर आउन उनी सल्लाह दिन्छन् । अटो क्षेत्रमा सम्भावना र अवसर उनले देखेका छन् । अटो क्षेत्रबाट नै दाहाले आफुलाई स्थापित गरेका छन् । भविष्यमा पनि यहि क्षेत्रमा बिताउने उनको योजना छ ।
परिवारको साथ र सहयोगको कारण मात्र व्यवसायमा सफल भएको दाहालको अनुभव छ । बुबाआमा श्रीमति र छोराछोरीको साथ खुशी जिवन विताइरहेका छन् ।
प्रस्तुति : मनोज थापा
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij