
अर्थ नेपाल संवाददाता
काठमाडौं /एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चूडालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो ४ बजे सपथ लिने भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा बुझाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
ओलीलाई प्रधानमन्त्री नियुक्त गर्दै राष्ट्रपति भण्डारीले नयाँ सरकारले स्थीरताका र विकासका लागि काम गर्ने विश्वास व्यक्त गरेकी छन्।
यसअघि वाम गठबन्धनले राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्न दाबीपत्र प्रस्तुत गरेको थियो ।
एमालेका अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षर गरिएको सो पत्र राष्ट्रपति कार्यालय, शीतल निवासमा बुझाइएको हो ।२७५ सदस्यीय प्रतिनिधिसभामा एमालेको १२१ र केन्द्रको ५३ सदस्य छन् । योसँगै ओली दोस्रो पटक प्रधानमन्त्री बनेका छन्। यसअघि उनी २०७२ असोजमा प्रधानमन्त्री नियुक्त भएका थिए।।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij