
अर्थ नेपाल संवाददाता
कालिकोट / कर्णाली करिडोर हुँदै रास्कोट दुर्गम गाउँमा गाडि पुग्दा स्थानियले फूलमालाले बाजागाजासहित स्वागत गरेका थिए । सदरमुकाम मान्मसहित सुर्खेत–नेपालगन्ज जोड्ने कर्णाली करिडोर हुँदै रास्कोटका विकट गाउँ सडकसित जोडिएपछि स्थानीयको वर्षौं पुरानो सपना पूरा भएको छ ।
यहाँका १२ गाउँ सडकसित जोडिएका छन् । कर्णाली करिडोर खुलालु–हुम्ला–हिल्सा सडक कर्णाली नदीको तिरैतिर नेपाली सेनाले निर्माण गर्दै आए पनि ग्रामीण सडक नहुँदा स्थानीयले घण्टौं उकालो हिंड्नुपर्ने बाध्यता थियो । कर्णाली करिडोर हुँदै सान्नीगाड–सिप्खाना सडक हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा सहभागी पाहुनालाई आफ्नै बारीमा फलेको अलैंची उपहार दिंदै कृषकहरुले कृषि उपजले पनि बजार पाउने वताए । त्यहाँका जनताले बारीमा लगाएको तरकारी बिक्री गर्ने सडक नहुँदा नगदेबाली रूपमा अलैंची खेती गर्दै आएका थिए ।
कालिकोटको पूर्वी तिला नदीको तिरैतिर कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक सञ्चालनमा आएको एक दशकपछि पश्चिम भेगमा गाउँ जोड्न कर्णाली करिडोर बन्न लागेको हो । उक्त करिडोर नदी तिरैतिर हुम्ला पुग्ने भए पनि कालिकोटका गाउबस्ती पुग्न स्युना र मेहेलमुडीको पुछार सान्नीनाडबाट प्खानासम्मको १८ किलोमिटर सडक ४ वर्षअघि बेलायती सहयोगमा निर्माण हुँदै आएको थियो ।
जिल्लाकै नमुना भनी दाबी गरिएको उक्त सडक रास्कोट नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ३४ करोड ३१ लाख ४ हजार २२ लागतमा बनेको सडकमा २९ करोड ९६ लाख १४ हजार मजदुरको ज्यालामा खर्च भएको छ । सुरुमा मुआब्जालगायत समस्याले काम गर्न कठिनाइ भए पनि पछि सहज भएको थियो । पारदर्शिता, सार्वजनिक सुनुवाइ, समान कामको समान ज्याला, विपन्न कामदार छनोटले कार्यक्रमप्रति सबैको विश्वास बढेको थियो ।
सडकले यहाँका बड्डाला, गोर्खाली गाउँ, पीपलमुडा, रानावाडा, विजयपुर, कोलीगाउँ, सिप्खाना सेराचौरसम्मका एक दर्जन बढी गाउँ छोएको छ । कर्णाली करिडोरसँग मुम्रा, मेहेलमुडी, रकु र नरहरिनाथको कोटवाडा विमानस्थलसम्म सडक जोड्न उक्त कार्यक्रमलाई सान्नीत्रिवेणी र नरहरिनाथ गाउँपालिकामा पनि सञ्चालन गरिनुपर्ने स्थानियले माग गरेका छन् ।
रुकुम खण्डमा कालोपत्रे तयारी
रुकुम पश्चिम– मध्यपहाडी लोकमार्गको रुकुम खण्डमा सडक कालोपत्रेको तयारी सुरु भएको छ । रुकुम पश्चिमको चौरजहारीदेखि रुकुमपूर्वको पातिहाल्नासम्मको १ सय ३० किलोमिटर लामो सडकलाई ८ खण्डमा विभाजन गरी कालोपत्रेपूर्व गरिने स्तरोन्नतिको काम थालिएको छ ।
उक्त सडकअन्तर्गत हासिबाङदेखि सेरीगाउँसम्मको १२ किलोमिटर खण्डको ठेक्का लाग्न बाँकी छ । शीतलपोखरी–रिनदह १४ किलोमिटर खण्डमा सबैभन्दा बढी काम भएको छ । अन्य तीनवटा खण्डसँगै शीतलपोखरी–रिनदह खण्डको एक वर्षअघि मात्रै सम्झौता भएको थियो । चैतभित्र सक्ने गरी निर्माण कम्पनीले उक्त खण्डमा काम गरिरहेको छ । १ सय ३० किलोमिटरमध्ये बढी जोखिम खण्ड रुकुम पश्चिमको रिनदहदेखि रुकुम पूर्वको रुकुमकोटसम्मको १९ किलोमिटरमा भर्खर चौडा पार्ने काम सुरु भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij