२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

साझाले ल्यायो नेपालमै पहिलो अपाङ्गमैत्री ‘सेमी–लो फ्लोर’ बस

साझाले ल्यायो नेपालमै पहिलो अपाङ्गमैत्री ‘सेमी–लो फ्लोर’ बस

1.4K
Shares

अर्थ नेपाल संवाददाता

काठमाडौं /साझा यातायातको ‘सेमी–लो फ्लोर’ बस आइपुगेको छ। काठमाडौं महानगरको सहयोग र अशोक लेल्याण्डको सहकार्यमा साझाले यो बस ल्याएको हो। प्रविधिक चेकजाँच, दर्ता प्रकृया र रुट परमिट पछि बस संचालनमा आउने साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।

‘यो बस मुख्यतः अपाङ्गमैत्री छ। ‘अपाङ्गहरुले प्रायोग गर्न पाउन भन्ने उद्देश्य नै यो बस ल्याइएको हो, हस्पिटल पर्ने रुटहरुमा यसलाई संचालन गर्ने सोचमा छौँ’ पाण्डेले भने। लगनखेलबाट त्रिपुरेश्वर, टिचिङ हुँदै बासबारीसम्म चलाउन उपयुक्त देखिएको उनले बताए। ‘सो रुटमा त्यति धेरै खाल्डाखुल्डी नभएकोले चलाउन केही सहज रहेको हाम्रो ठम्याइ छ’ उनले भने।

अरु गाडीमा उक्लिनको लागि २–३ स्टेप चढ्नु पर्नेमा यो गाडीमा एक स्टेप मात्र छ। आवश्यकता अनुसार त्यो स्टेपलाई पनि फोल्ड गरी सतह बनाएर ‘ह्विल चियर’ सजिलै छिराउन सकिने साझाले जनाएको छ।

१२ मिटर लम्बाइ रहेको यो गाडी अरु भन्दा ठूलो रहेकोले एकै पटक धेरै जनाले यात्रा गर्न सक्छन्।  यो अरु भन्दा महङ्गो, ग्राउण्ड क्लियरेन्स लो भएकोले सडक उपयुक्त छ कि छैन भनेर जाँच्न गाह्रो हुने भएकाले धेरै संख्यामा ल्याउन नसकिएको साझा यातायातका संचालक समितिमा सदस्य भुषण तुलाधरले जानकारी दिए।

‘यो गाडीको मूल्य १ करोड भन्दा बढी छ, तर अशोक लेल्याण्डले हामीलाई ३५ लाखमै उपलब्ध गराएको हो’ उनले भने ‘यस्तो गाडी जोरपाटीको रुटमा पनि जरुरत छ तर त्यहाको बाटोको स्थिति हेर्दा अहिले उपयुक्त देखिँदैन’ तुलाधरले भने।

ड्राईभर सहित ४१ सिट क्षमताको यस सेमी लो फ्लोर बसको सिट पनि पहिलेकोे भन्दा फरक र ‘प्यासेन्जर फ्रेन्डली’ छ।

यो गाडीको अर्को मूख्य विशेषता भनेको ‘ड्राइभर एनाउन्समेन्ट’ सिस्टम हो। यसले गर्दा ड्राइभरले प्यासेन्जरलाई गाडी कहाँ पुग्यो भन्ने कुरा जानकारी दिन्छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij