
अर्थ नेपाल संवाददाता
काठमाडौं / लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको एकल सङ्गीतमा तयार भएको राष्ट्रिय भावको गीतिसङ्ग्रह ‘सुरक्षा’ को परिचर्चा सम्पन्न भएको छ । केही समय अगाडि काठमाडांैमा भव्यरुपमा सम्पन्न गरिएको सुरक्षाको दाङमा परिचर्चा गरिएको छ । सङ्गीतकार सन्तोष श्रेष्ठ आफ्नो जन्मभूमि दाङ गएको अवसर पारेर राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा परिचर्चा कार्यक्रम गरिएको हो ।
परिषद्का अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शर्माले यतिबेला सङ्गीतकार सन्तोष श्रेष्ठले समय अनुकुल सिर्जना गरेको बताए । सुरक्षा भित्रका गीतहरू सुन्दा साच्चिकै राष्ट्रिय भाव बोकेका उत्कृष्ट गीतहरूकोसङ्ग्रह भएको बताए । गीतिसङ्ग्रहको समीक्षा गर्दै गीतकार प्रकाश के.सी.ले पछिल्लो समयमा व्यावसायिक गीतहरूको संख्या पढिरहेको समयमा सङ्गीतकार सन्तोष श्रेष्ठले अग्रज गीतकारहरुको रचना र प्रसिद्ध गायकहरुको आवाजमा राष्ट्रिय भावका गीतहरुको सङ्ग्रह सुरक्षा प्रकाशन हुनु नेपाली साङ्गीतिक क्षेत्रकै उपलब्धि भएको बताए ।
सङ्गीतकार श्रेष्ठले आफ्नो मन्तव्यको क्रममा यतिबेला राष्ट्रिय भावका गीतहरुको आवश्यकता भएको बताउँदै सङ्गीतको माध्यमबाट राष्ट्रिय एकताको सन्देश दिन खोजेको बताए ।
श्रेष्ठको एकल सङ्गीतमा रहेको सुरक्षा गीतिसङ्ग्रह भित्र माधवप्रसाद घिमिरे, कालीप्रसाद रिजाल, श्रीपुरुष ढकाल, दिनेश अधिकारी, रमेश क्षितिज, डा.नवराज लम्साल र भावेश भुमरीका रचना समावेश छन् भने शिव परियार, मनोज राज, भविन ढुङ्गाना, कर्म ग्याल्छेन बम्जन र सन्तोष श्रेष्ठको आवाज समावेश गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij