
काठमाडौं । नक्कली डाक्टर प्रकरणमा न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार नारायण तिमिल्सिनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पक्राउ गरेको छ । सीआइबीले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर नक्कली डाक्टर र संचालक पक्राउ गर्ने क्रममा चाईना ग्रेटवाल अस्पतालका अध्यक्ष समेत रहेका तिमिल्सिनालाई पक्राउ गरिएको हो । तिमिल्सिनालाई माघ १६ गते पक्राउ गरिएको भए पनि उनको पत्रकारको परिचय लुकाइएको थियो । सिआईवी प्रमुख डिआईजी पुस्कर कार्कीले पत्रकारको रुपमा कसैलाई पक्राउ नगरिएको र नक्कली डाक्टर सम्बन्धी अनुसन्धान गर्दा केहि व्यक्तिलाई नियन्त्रणमा लिइएको अर्थ नेपाललाई बताए । डिआईजी कार्की भने –‘केहि अस्पताल सञ्चालकलाई पक्राउ गरेका छौं त्यसमा पत्रकारको परिचय समेत भएका सञ्चालक भए मेरो जानकारीमा छैन् ।’ यता न्युज २४ स्रोतले तिमिल्सिना पक्राउ गरेको पुष्टि गर्दै परिचय लुकाइएको बतायो ।
अस्पतालबाट चिनियाँ दुई नक्कली डाक्टर सहित पक्राउ परेका तिमिल्सिनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । विगतमा सगरमाथा टेलिभिजन र कान्तिपुर टेलिभिजनमा काम गरेका तिमिल्सिना हाल न्यूज २४ टेलिभिजनमा समाचार वाचकको रुपमा कार्यरत थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij