
काठमाडौं /सुनसरीमा चौधरी ग्रुपले इण्डस्ट्रियल पार्क निर्माण गर्ने भएको छ । शनिवार सीजी इण्डस्ट्रियल पार्कको सिलान्यास गरिएको छ । सुनसरी जिल्लाको गढीगाउँपालिका–२ स्थित औरावनीमा २२ बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको उक्त इण्डस्ट्रियल पार्कको उपप्रधानमन्त्री विजय कुमार गच्छदार, पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य भीम आचार्य र चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले संयुक्त रुपमा सिलान्यास गरेका छन् ।
इण्डस्ट्रियल पार्क स्थापनापछि करिब दुई हजार जनाले रोजगारी पाउने विश्वास गरिएको छ । देश प्रादेशिक संरचनामा गइसकेको सन्दर्भमा प्रत्येक प्रदेशमा लगानी विस्तार गर्ने उद्देश्य अनुसार प्रदेश नम्बर १ बाट उक्त कार्यको थालनी भएको ग्रुपका अध्यक्ष चौधरीले बताए ।
प्रदेश नम्बर ४ मा रहेको नवलपरासीको दुम्कौलीस्थित सीजी इण्डस्ट्रियल पार्ककै अवधारणा प्रदेश नम्बर १ मा विस्तार गर्न लागिएको हो । चौधरी ग्रुपले २७ वर्षअघि नवलपरासीमा स्थापना गरेको इण्डस्ट्रियल पार्क निजी क्षेत्रबाट सञ्चालित मध्ये पहिलो हो ।
ग्रुपले प्रदेश नम्बर ५ मा बर्दियाको बाँसगढीमा पनि इण्डस्ट्रियल पार्क निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ भने ललितपुरको भैंसेपाटीस्थित फूड पार्क लगायत प्रदेश नम्बर ३ लाई आधार बनाएर विभिन्न व्यवसायहरुमा लगानी गरेको छ । नेपालमा अधिकतम लगानी विस्तार गर्ने ग्रुपको रणनीति अनुसार प्रदेश नम्बर १ पछि प्रदेश नम्बर २, ६ र ७ मा थप लगानी गर्ने योजना रहेको चौधरीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री गच्छदारले देशमा उद्योगधन्दाको विकास मार्फत् रोजगारी सिर्जनागर्नका लागिचौधरी ग्रुपबाट भएको पहल आर्थिक समृद्धि र विकासको दिशामा अगाडि बढ्न कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले चौधरी ग्रुपको यो कदमले देशको अर्थतन्त्रमा सकारात्मक परिणाम हासिल गर्नका लागि फलदायी हुने धारणा राखे ।
पूर्व मन्त्री एवं प्रदेश नम्बर १ का प्रदेश सभा सदस्य भीम आचार्यले योजनाबद्ध ढंगले काम गरेर द्रूत गतिमा आर्थिक समृद्धि र विकास हासिल गर्नुपर्ने आवश्यकता औंल्याए ।
इण्डस्ट्रियल पार्कबाट पहिलो चरणमा ग्रुपको लोकप्रिय ब्राण्ड वाइ वाइ चाउचाउ उत्पादन गर्ने लक्ष्य रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij