
पोखरा /जिल्ला प्रहरी ट्राफिक कार्यालय कास्कीले बाह्र दिनको कार्वाहीमा १३ लाख ९४ हजार राजश्व संकलन गरेको जनाएको छ । १ हजार ९ सय सवारी साधन कार्वाही बाट यो राजश्व संकलन भएको हो । विशेष गरि शहरी क्षेत्रका फुटपाथ र सडकमा गलत ढङले गरिएका सवारी पार्किङ बाट सुरु गरिएको सवारी कार्वाही बाट राजश्व संकलन गरिएको हो ।
‘बजार क्षेत्रको शोभा नै बिर्गाने फुटपाथ नै ढाक्ने गरि पार्किङ गरिएपछि हामीले बाध्य भएर कार्वाही गरेका हौं’ ट्राफिक कार्यालयका सई शिब थापाले भने । माघ १ गते बाट सुरु गरिएको कार्वाहीमा मिटरमा नचलेका ५३ ट्याक्सी, २ सय १० मोटरसाइकल, भाडामा चलाउन दिइएका ७ निजी मोटरसाइकल र कार ५३ र वढी भाडा लिएका ५ माइक्रो बस लगाएत रहेको थापाले जानकारी दिए । कार्वाहीमा परेका सवारीहरु बाट १ हजार देखि १ हजार ५ सय सम्म जरिवान लिने गरिएको उनले बताए ।
‘ट्राफिक कार्यालयको उद्धेश्य कार्वाही गर्नु पक्कै पनि होइन तर बाध्यता नै बन्न गएको छ’ सइ थापाले भने ‘यसमा उपभोक्ता अर्थात सवारी चालक आफै पनि सचेत हुन अवश्यक छ ।’ ‘यो बाह« दिनमा धेरै नै सुधार आएको छ’ सइ थापाले भने । उनले फुटपाथमा सवारीहरु राख्दा पैदल यात्रुहरु हिँड्दा समस्या हुने गरेको र दुर्घटना न्युनीकरणका लागि पनि फुटपाथमा रहेको जथाभावी पार्किङ हटाउन आवश्यक रहेको बताए । उनले सबै सरोकारवाला पक्षहरु यसमा ध्यान दिनुपर्ने कुरामा समेत जोड दिए । उनले पोखरा लेखनाथ महानगर कार्यालय संग मिलेर सडकमा जेव्रा क्रसिङ, लेन छुट्याउने कोनहरु समेत राखिने बताए ।
ट्राफिक कार्यालयले महानगरपालिकाको सहयोगमा माघ १३ गते बाट चाइनापुल देखी लेखनाथ सम्मको राजमार्गमा मापदण्ड विपरित बनाइएका ग्यारेज, वर्कशप र यातायातका साधनहरु हटाउने अभियान सुरु गरिने जानकारी समेत गराएका छन । जिल्ला ट्राफिक कार्यालयले २०७४ साउन १ गते २०७४ पौष मसान्त सम्म २३ हजार सवारी कार्वाही बाट १ करोड ६६ लाख ५० हजार राजश्व संकलन गरेको छ । जसमा १ हजार ३ हजार ६८ मापासे कार्वाही समेत रहेको सइ शिब थापाले बताएका छन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij