
अर्थ नेपाल पोखरा /पोखराका शहरका मुख्यचोकमा रहेका सहिद र राष्ट्रिय विभुतिका शालिकलाई ब्यस्थित पार्क बनाएर राख्ने प्रक्रिया सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिकाले सहिद पार्क बनाउने कार्ययोजना अगाडी बढाएको हो । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १८ स्थित पर्यटकीय क्षेत्र सराङकोटको जामुने बोटमा पार्क निर्माणको प्रक्रिया अगाडी बढेको महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिइन् । महानगरपालिकाले सहिदका सालिक ब्यवस्थित गर्न उदासिन बनेको भन्ने जनगुनासो आएपछि पार्क निर्माण कार्य तिव्र रुपमा अगाडी बढाएको छ ।
सराङकोटमा रहेको ५७ रोपनी क्षेत्रफलमा रहेको जग्गामा पार्क बनाउने गरि गुरुयोजना निर्माणमा जुटेको महानगरपालिकाका इन्जिनियर महेन्द्रबहादुर गोदारले जानकारी दिए । उनका अनुसार जग्गा छुट्याउने र पर्खाल लगाउने कार्यकालागी लागत स्टिमेट तयार पार्न जुटेको बताए । ‘हामीले पहिलो चरणमा जग्गा छुटयाउने र पर्खाल लगाउन आवश्यकका लागी लागत स्टिमेट गर्दछौ, त्यसपछि पार्कको गुरुयोजना निर्माण गछौ ।’
पोखरा लेखनाथ महानगरपालिकाले सडक फराकिलो बनाउने अभियान अन्र्तगत असोजमा पृथ्वीचोकमा रहेको लखन थापाको शालिक, अमरसिंहचोकको अमरसिंह थापाको शालिक, जिरोकिलोमिटरको योगेन्द्र शेरचनको शालीक हटाएको थियो ।
महानगरले पृथ्वीचोकमा हटाइएको लखन थापाको शालिक पूनस्थापना गरेको भन्दै विरोध भएपछि महानगरले सवै चोकमा रहेका सहिद र विभुतिकका शालिक पार्क बनाएर राख्ने बताउदै आएको भएपनि काम अगाडी बढन नसकेको गुनासो आउन थालेपछि तत्काल काम अगाडी बढाउन विहिबार पोखरा लेखनाथ महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ सहित इन्जिनियरहरु सहितको टोलीले पार्क निर्माणस्थलको निरिक्षण गरेको हो ।
निरिक्षणपछि उपमेयर गुरुङले शहरका चोकमा रहेका सवै सालिक पार्क बनाएर ब्यवस्थित गर्ने गरि काम सुरु भएको बताइन् । सराङकोटमा पार्क निर्माण गर्ने निर्णय महानगरकार्यपालिकाको बैठकले यसअघिनै निर्णय गरिसकेको छ । निरिक्षणमा उपमेयर गुरुङ, महानगरपालिकाका मेयरका स्वकिय सचिव लक्ष्मण तिमिल्सिना, इन्जिनियर महेन्द्र गोदार, अमिन दिवाकर सुवेदी, गणेश गिरी र जुनियर इन्जिनियर झपट थापा लगायतको टोलीले निरिक्षण गरेको उपमेयरका प्रेस सहयोगी एकराज गिरीले जानकारी दिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij