
अर्थ नेपाल संवाददाता
पोखरा/पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कर तिरेपछि नागरिकले सम्मानित हुने वातावरण बनाउन आफू क्रियाशिल हुने बताउनु भएको छ ।
पोखरा उद्योग वाणिज्य संघको शनिबार सम्पन्न ६३ औँ वार्षिक अधिवेशनको प्रमुख अतिथी रहनु भएका नगरप्रमुख जिसीले नागरिकले आफूले तिरको कर नागरिककै हितमा खर्च हुने प्रत्याभूति भए मात्र बढीभन्दा बढी व्यवसायीहरु करको दायरामा आउने वातावरण निर्माण हुने बताउनुभयो । महानगरका ४० प्रतिशत नागरिक मात्र अहिले करको दायरामा आएको बताउँदै यो आर्थिक वर्षमा ७० प्रतिशत नागरिकलाई करको दायरामा ल्याउने लक्ष रहेको उहाँको भनाई थियो । महानगरमा ढल, पार्किङ लगायत विविध समस्या रहेको स्वीकार्दै उहाँले यस्ता समस्या समाधानको लागि महानगरपालिका योजना बनाएर अगाडि बढिरहेको दावी पनि गर्नुभयो । पोखरा महानगपालिकाले निजी क्षेत्रको सवलिकरणका विशेष ध्यान पु¥याउने प्रतिवद्धता व्यक्त गर्दै स्वरोजगारमूलक क्षेत्रको पहिचान गरी लगानी गर्न व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले व्यवसायीहरु कर तिर्न तयार रहे पनि दोहोरो कर तिर्न भने तयार नभएको घोषणा गर्नुभयो । देश संघीय संरचनामा जाँदै गर्दा केन्द्र, प्रदेश र स्थानीय सरकारले विभिन्न शीर्षकमा करहरु बढाउने तयारी गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले करदातालाई दोहोरो मार पार्ने गरी कर लगाएमा त्यसको प्रतिकार गरिने बताउनुभयो । सम्वृद्धि नाराले हैन लगानीले मात्र सम्भव हुने बताउँदै उहाँले जम्मा ८ अर्वको हाराहारीमा राजश्व उठाएर मात्र प्रदेश नम्बर ४ सम्वृद्ध नहुने ठोकुवा गर्नुभयो । पोखरा तथा प्रदेशलाई सम्वृद्ध बनाउनको लागि स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने खालका योजनाहरु बनाएर अगाडि बढ्नु पर्ने उहाँको सुझाव थियो ।
नेपाली काँग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीले राजनीतिक मुद्धाहरु किनारा लागि सकेकोले राजनीतिक पार्टीहरुको अबको एजेण्डा विकास हुनुपर्नेमा जोड दिनुभयो । सम्वृद्ध पोखरा बनाउनको लागि गुरुयोजनाका साथ अगाडि बढ्नु पर्ने उहाँको धारणा थियो ।
सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर का अध्यक्ष संजिवबहादुर कोइरालाले खानेपानी र बिजुलीको जस्तै एकिकृत सम्पत्ति करको बिल नागरिकको घरमै पु¥याउने व्यवस्था गर्न महानगरपालिकासँग माग गर्नुभयो ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पाखिलेले आफ्नो एक वर्षको कार्यकालमा भए गरेका गतिविधीबारे चर्चा गर्दै पोखराको समग्र विकासका लागि संघ क्रियाशिल भएर अगाडि बढेको बताउनुभयो । संघको पहलमा मित्र राष्ट्र चीनबाट पोखराको लागि १हजार थान सौर्य बत्ती प्राप्त भई जडान गरिएको प्रसङ्ग उल्लेख गर्दै थप एक हजार थान सौर्य बत्तीको लागि पहल भई रहेको जानकारी दिनुभयो । संघले पोखराबाट भरतपुर, नेपालगंज,भद्रपुर र सिराहमा सीधा हवाई सम्पर्कको पहल गरिरहेको बताउँदै सीधा हवाई सम्पर्कले पोखरामा कम्तिमा २० प्रतिशत पर्यटक थपिने आशा व्यक्त गर्नुभयो । अध्यक्ष पालिखेले उद्योगी÷व्यवसायीहको समस्या समाधानको अतिरिक्त सशक्तिकरणको लागि विभिन्न तालीम, गोष्ठी र भ्रमणको आयोजनालाई निरन्तरता दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीको धन्यवाद तथा महासचिव दामु अधिकारीको संचालन रहेको कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत लेखनाथ शर्माले राजश्व समयमै व्यवस्थित रुपले तिर्न व्यवसायीहरुसँग आग्रह गर्नुभयो । आन्तरिक राजश्व कार्यालयले यहाँका सबैजसो व्यवसायीहरुको गतिविधीको शुष्म अध्ययन गरिरहेको दावी गर्दैै कर छल्न खोज्नेहरुलाई कारवाही गरिने प्रष्ट पार्नुभयो ।
यसैगरी स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज सुवेदीले स्थानीय तहमा जनप्रतिनिधी नहुँदा उद्योग वाणिज्य संघहरुले नै जनप्रतिनिधीहरुको काम गरेको स्मरण गर्दैै निर्वाचित जनप्रतिनिधीहरुको काम कारवाही सुस्त भएको गुनासो गर्नुभयो । सोही कार्यक्रममा उत्कृष्ट बस्तुगत संघ सम्मानबाट सम्मानित फेन्सी तथा रेडिमेड व्यवसायी संघ, पोखराका अध्यक्ष केशवबहादुर खत्रीले सम्मानले जिम्मेवारी बढेको धारणा राख्नुभयो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारित पुरस्कार २०७४ चयन समितिका संयोजक तथा संघका पूर्व अध्यक्ष बसन्त उदास एवं पोखरा उद्योग वाणिज्य संघ, उत्कृष्ट बस्तुगत संघ सम्मान २०७४, चयन समितिका संयोजक तथा संघका पूर्व अध्यक्ष रमेश कर्माचार्यले पनि मन्तव्य राख्नु भएको थियो । ६३ औँ अधिवेशनको क्रममा पोखरा उद्योग वाणिज्य संघले जागिर खोज्ने र दिनेहरुलाई सजिलो बनाउनका लागि निर्माण गरिएको अनलाइन जब पोर्टलको समुद्घाटन तथा महिला उद्यमीहरुको लागि निर्माण गरिने तालीम कक्षको शिलान्याश समेत गरियो । कार्यक्रमका प्रमुख अतिथी पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जब पोर्टलको उद्घाटन र तालीम कक्षको शिलान्याश गर्नुभएको थियो । यता संघको समुद्घाटन सत्रपछि संचालित बन्द सत्रले महासचिव दामु अधिकारीको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष पवनकुमार प्रजापतिको आर्थिक प्रतिवदेश पारित गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij