बन्दना विष्टको स्वभाव सानैदेखी कडा खालको थियो । सहि कुरालाई सहि र गलत कुरालाई गलत भन्ने हिम्मत उनीमा थियो । बाल्यकाल काठमाडौंमा नै वित्यो । परिवारमा बुबा व्यापार गर्नुहुन्थ्यो । त्यसैले ठुलो भएपछि आफु पनि व्यापार मै लाग्छु भन्ने उनको सोचाई थियो । अक्सिडेन बोडिङबाट एसएलसी पास गरिन । गोल्डेन गेट कलेजबाट प्लस टु पास गरेकी विष्टले पोखरा विश्वविद्यालयबाट एमविएसम्मको अध्ययन पुरा गरिन ।
एसएलसी दिएपछि उनी पूर्णरुपमा व्यापार व्यवसायमा लागिन । व्यापारमा राम्रोसंग काम गर्नु पर्छ भन्ने भावनाका साथ काम गरिन । सानैदेखीको रुची भएकाले पनि आफ्नो सपना पुरा हुँदै गएकोमा उनी खुशी छिन् । व्यापारमा नाफा हुँदा मात्तिने र घाटा हुँदा आत्तिने गर्नु हुँदैन भन्ने ज्ञान उनीमा छ । भन्छिन्–‘म छोरी हुँदादेखी नै व्यापारमा लागेकी हुँ र अहिले बुहारी र श्रीमती हुँदा पनि व्यापारमा नै लागिरहेकी छु ।’ छोरी र बुहारी दुई भिन्न भूमिकाका बारेमा उनलाई राम्रोसंग जानकारी छ । एउटा आर्दश घर निर्माणका लागि नारीको महत्वपूर्ण भूमिका हुने कुरा उनलाई राम्रोसंग थाहा छ ।
व्यापार र घर गृहस्थीमा मात्रै उनले आफुलाई सिमित राखिनन् । उनीले मिसेस नेपाल ग्राण्ड २०१७ को उपाधी जितेकी छिन् । यो सफलता पाउँदा घर परिवारको सदस्यहरु खुशी भएको देख्दा उनलाई आफुले केहि गर्न सकेको अनुभूति भएको छ । सामाजिक सञ्जालमा मिसेस नेपाल ग्राण्डको अडिसन हुने खबर पाएर घर परिवारको सल्लाहमा उनी प्रतियोगितामा सहभागी भएकी हुन ।
विवाह अघि नै मिस नेपालमा भाग लिने सोच बनाएपनि त्यस्तो अवसर उनका लागि जुरेन । विवाह पछि भएपनि उनले मिसेस नेपाल ग्राण्डको उपाधी जित्न सफल भएकोमा निकै हर्षित छिन् ।
स्कुल पढ्दादेखी नै बोल्न र आफ्ना कुरा राख्न अग्रसर हुने बानीले उनलाई अहिलेको सफलता पाउन सघाउ पु¥यायो । स्कुलमा उनको सक्रियताले प्रशंसा पाउने गर्दथ्यो । प्रतियोगितामा बौद्धिकता जाँचिने भएकाले जित्न सक्छु भन्ने आत्मविश्वास उनीमा थियो । आफु भित्रको प्रतिभा बाहिर ल्याउनु पर्छ भनेर नै उनले यो प्रतियोगितामा भाग लिएकी हुन ।
छोरीलाई सम्पति भन्दा पनि शिक्षा दिनु पर्छ भन्ने मान्यता उनको छ । छोरी शिक्षित भएमा अरु कुरा आफै प्राप्त हुने उनको विश्वास छ । कुनै पनि व्यक्तिका लागि सफलताको अन्तिम विन्दु नहुने उनको भनाई छ । आफ्नो क्षेत्रमा मेहनत, धैर्यता र लगनशिल भएर अघि बढेमा सफल भइने कुरामा उनी विश्वस्त छिन् ।
उनको रुची समाज सेवामा पनि छ । २०७० सालमा दाई मोटरसाइकल दुर्घटनामा वित्नु भएपछि उहाँकै नाममा स्थापना भएको विशाल विष्ट मेमोरियल ट्रष्ट मार्फत सामाजिक कार्यहरुमा विष्ट सक्रिय छिन् । भूकम्पका समयमा पनि सहयोग गरेको ट्रष्टले अहिले बाढी पहिरो पीडितहरुका लागि पनि सहयोग गरेको छ । रक्तदान र बालबालिकाको क्षेत्रमा पनि काम भइएरहेको छ । मिसेस नेपाल ग्राण्डको ताज आफुले गरेका राम्रा काम र परिश्रमको प्रतिफलका रुपमा उनले लिएकी छिन् ।
श्रीमान् जेठाजु र जेठानीका साथमा बस्दै आएकी विष्टलाई घरपरिवारबाट निकै सहयोग प्राप्त भएको छ । परिवारको सहयोगले नै आफुलाई सफलता प्राप्त भएको उनको निष्कर्ष छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij