उद्धव खरेल
प्रमुख
बुढानिलकण्ठ नगरपालिका
उद्धव प्रसाद खरेलको स्वभाव सानैदेखी अनुशासित थियो । आफ्नो काम आफै गर्ने गर्दथे । कृषकको छोरा भएकाले कृषि कर्ममा लाग्दै सामाजिक काममा सक्रिय भए । शिक्षण पेशामा लागेर करिब १६ वर्ष निरन्तर सेवा गरे । पछि उनको बाटो मोडियो । शिक्षण पेशाबाट राजनीतिमा हाम फालेका खरेल २०५४ सालमा गाविस अध्यक्षमा निर्वाचित भए । त्यसपछि सार्वजनिक जीवनमा प्रवेश गरेका खरेल अहिले बुढानिलकण्ठ नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।
उनी विद्यार्थीकालदेखी नै वाम राजनीतिमा झुकाव राख्दथे । ०४६ सालको आन्दोलनमा उनी सक्रिय सहभागी थिए । नेकपा एमालेको क्षेत्रीय कमिटि हुँदै अहिले प्रदेश कमिटिमा रहेर काम गरिरहेका छन् ।
मेयर बनेपछि खरेलको दिनचर्यामा निकै ठुलो परिर्वतन आएको छ । हिजो भन्दा आज जिम्मेवारी थपिएको छ । जनताका गुनासा, अप्ठ्यारा र विकास निर्माणसंग जोडिएका कामहरुले व्यस्त बनाउँदै लगेको छ । जनताको अपेच्क्षाहरु चुलिँदै गएको उनले राम्ररी बुझेका छन् ।
जनताका समस्याहरुलाई प्राथमिकताका आधारमा समाधान गर्दै लैजाने उनको योजना छ । आम्दानी र खर्चको आधारमा वडाको योजना छनोट गरेर काम गरिरहेको खरेलको भनाई छ । नगरभित्रका समस्याहरु समाधान गर्न सबै एकजुट हुनुपर्ने उनको मान्यता छ । निर्वाचित जनप्रतिनिधिहरुले सबैसंग मिलेर काम गर्नु पर्ने मान्यता राख्ने खरेल साझा मुद्धामा सबैको सहयोग हुनुपर्ने बताउँछन् । उनी नगरपालिका सबैको हो भन्ने मान्यता राख्दछन् । अहिलेसम्म सबैबाट सहयोग पाएकै अनुभव भएको छ । उनी कसैप्रति पनि पुर्वाग्रह नराख्न प्रतिबद्ध छन् । आर्थिक मामिलामा पनि टाढै रहने उनको सोचाई छ । जीवनमा मेहनत र परिश्रम गरेरै अघि बढ्न उनी प्रतिबद्ध देखिन्छन् ।
नगरपालिकालाई धार्मिक, सांस्कृतिक र प्राकृतिक स्रोतको परिचालन गरेर पर्यटनको केन्द्र बनाउने उनको योजना छ । आर्थिक रुपले सम्बृद्ध नगर बनाउने उनको सपना छ ।
काम गर्न अनेक चुनौति भएको उनलाई थाहा छ । सबै काम एकै चोटी पुरा गर्न सम्भव पनि छैन् । तर स्रोत र साधनको अधिकतम परिचालन गरेर नगरबासीको अपेच्क्षा पुरा गर्ने प्रतिबद्धता खरेलको छ ।
काठमाडौंको तत्कालिन चपली भद्रकाली गाविस वडा नं. ८ मा २०१९ साल चैत ०९ गते जन्मिएका खरेल पिता विष्णु प्रसाद खरेल र माता नन्दकुमारीको सन्तानका रुपमा जन्मिएका हुन । एउटा छोरा, छोरी र श्रीमतीका साथ जीवन व्यथित गरिरहेका खरेल जनताको सेवा प्रति प्रतिबद्ध छन् ।
प्रस्तुति : मनोज थापा
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij