डा. बेन लिम्बु
वरिष्ठ नेत्ररोग विशेषज्ञ
तिलगंगा आँखा अस्पताल
डा.बेन लिम्बु सानोमा निक्कै चञ्चले स्वभावका थिए । अरुलाई सताउने खालको उनको बानी थियो । व्रिटिस लाहुरे बुबा इन्द्र लिम्बुका छोरा बेनले सानैदेखी प्रहरी इन्सपेक्टर बन्ने सपना पालेका थिए । तर उनी प्रहरी सेवामा गएनन् । चिकित्सक बने ।
२०३४ सालमा मोरङ जिल्लाको गोविन्दपुरमा जन्मेका लिम्बुले कक्षा ५ सम्म त्यहाँको सरकारी विद्यालयमा अध्ययन गरे । सानोमा चञ्चले स्वभावका उनीसंग बाल्यकालका थुप्रै घटनाक्रम स्मरणमा छ । बुबाले धरानमा जागिर खान थालेपछि उनी पनि त्यतै गए । इटहरीबाट एसएलसी पास गरे । सरकारी विद्यालयमा पढेकाले अंग्रेजी राम्रो थिएन । अंग्रेजी नजानेकै कारण उनलाई केहि समय पढाईमा रुची भएन । त्यहि कारण परिक्षामा असफल भएपछि बुबाले विद्यालयमा धेरै अनुरोध गर्नु प¥यो । त्यो देखपछि उनलाई पीडाबोध भयो । उनले आफ्नो पढाईलाई सुधार गर्दै लगे । पछि राम्रो विद्यार्थीका रुपमा उदाए ।
उनको उच्च शिक्षा दक्षिण भारतमा भयो । दुई पटक एमविविएसमा नाम ननिस्कीए पछि उनले विराटनगरमा विएस्सी पढ्न थाले । तर उनलाई त्यहाँको वातावरण राम्रो लागेन । घरमा केहि नभनी उनी काठमाडौं आए । काठमाडौं विश्वविद्यालयमा एमविविएसमा नाम निकालेर उनले आफ्नो अध्ययनलाई अघि बढाए ।
मेहनतका साथ अघि बढ्यो भने जीवनमा असम्भव भन्ने कुरा केहि रहेनछ भन्ने कुरा उनले बुझे । ग्रामिण भेगबाट निकै ठुलो दुःख गरेर आजको अवस्थासम्म आइपुगेको कुरा उनी अरुलाई पनि सुनाउने गर्दछन् । जसले गर्दा अरुलाई प्रेरणा मिल्ने गर्दछ ।
बुबा, आमा र दिदिबहिनीहरुले दिएको निरन्तरको प्रेरणाले अघि बढ्ने उर्जा पाउँदै गए । एमविविएस पुरा गरेपछि तिलगंगा आँखा अस्पतालमा सेवा आरम्भ गरे । लिम्बुले २००३ बाट मेडिकल अधिकृतको रुपमा काम गरेका हुन । त्यसपछि २००९ मा हेटौडाको आँखा अस्पतालमा प्रमुखका रुपमा पनि काम गरे ।
हेटौडामा रहँदा लिम्बुले जनताको मन जित्ने गरी काम गरे । धेरै स्वास्थ्य शिविरहरु चलाए । आर्थिक अवस्था कमजोर भएकाहरुको लागि निःशुल्क उपचार गरिदिए । आँखाको रोगका बारेमा उनले चेतना फैलाउने काम पनि गरे । स्वास्थ्य शिविर चलाउँदा उनले धेरै घटनाहरु स्मरण गर्दछन् । आँखाको उपचार गरेर संसार देख्न पाएकाहरुको खुशीसगंै उनले आफ्नो खुशी साटे । सधै जनताको सेवामा तल्लिन भए । पैसा भन्दा पनि अरुको खुशीमा रमाउँदै जीवनको सफलताको मार्गमा अघि बढेका डा.लिम्बु आफुले गरेको कर्म प्रति सन्तुष्ट छन् । उनी वरिष्ठ नेत्ररोग विशेषज्ञका साथै प्राध्यापक पनि हुन । उनी तिलगंगा आँखा प्रतिस्धानमा अध्यापन पनि गराउँछन् । अकोप्लास्टिक सर्जनका रुपमा उनले काम गर्दा तिलगंगा आँखा अस्पतालमा एक जना मात्र डाक्टर थिए । विरामीले अप्रेसनका लागि दुई वर्षसम्म कुर्नु पर्ने अवस्था थियो । त्यो देखेर उनले धेरै विरामीको उपचार गर्ने प्रण गरे । आज दुई महिना भन्दा बढि समय विरामीले कुर्नु नपर्ने भएको छ ।
आँखामा हुने मोतिबिन्दुलाई अन्धविश्वाससंग जोडेर हेर्ने प्रवृत्ति उनले देखेका छन् । स्वास्थ्य सम्बन्धी जनचेतनाको अभावका कारण रोगको सहि उपचार हुन नसकेको उनको बुझाई छ । भौगोलिक कारण र उमेरसगैं आँखामा समस्या आउने गरेको डा.लिम्बु बताउँछन् । घाम, खानपीन जस्ता कुराहरुले गर्दा पनि आँखा सम्बन्धी रोग देखा परेको उनी बताउँछन् । बच्चाहरुलाई ल्यापटक तथा मोवाइल धेरै समय चलाउन नदिन उनी आग्रह गर्दछन् ।
जीवनलाई उनले अवसरका रुपमा लिएका छन् । कुनै पनि मानिस सफल बन्नका लागि मेहनत र परिश्रम पहिलो सर्त हो । सहि समयमा सहि निर्णय गरेर अघि बढ्न सके मात्र सफलता पाइने उनको विश्वास छ । अकोप्लाष्टिकको कोर्ष अमेरिका र बेलायतबाट गरेका डा. लिम्बु अहिले वरिष्ठ नेत्ररोग विशेषज्ञका रुपमा ख्याति कमाएका छन् । लिम्बुलाई राष्ट्रले एउटा दक्ष चिकित्सकका रुपमा पाएको छ ।
घरपरिवारबाट निरन्तर साथ र सहयोग पाएका लिम्बुका बुबा, आमा, भाई र दिदीहरु सबै विदेशमा छन् । आफुचाहि मातृभूमिको सेवा गरेर बसिरहेको छन् । जीवनमा धेरै संघर्ष गरेर सफलता पाएका लिम्बु आज गौरव गर्न सकिने उचाईमा पुगेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij