नेपालको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटन पनि पछिल्लो समयमा विस्तार हुँदै गएको छ । नेपालीहरु पनि देशमा मात्र नभई विदेशमा पनि घुम्न जान थालेका छन् । विगत १५ वर्ष भन्दा बढि समयदेखी पर्यटन क्षेत्रमा सक्रिय ग्रेट नेपाल होलिडेजका प्रबन्ध निर्देशक सूर्यबहादुर घिमिरेसंग अर्थ नेपाल डट कमका लागि मनोज थापाले गरेको कुराकानी
ग्रेट नेपाल होलिडेजको बारेमा भन्दिनुस न ?
हामी १५ वर्षदेखी पर्यटनको क्षेत्रमा सक्रिय छौं । यो संग सम्बन्धीत तिन वटा कम्पनि रहेको छ । पछिल्लो समयमा बजार अध्ययनबाट नेपालीहरुमा पनि घुम्न जाने बानीको विकास भएसगैं त्यसको लागि हामीले ग्रेट नेपाल होलिडेज स्थापना गरेर नेपालीहरुलाई देश तथा विदेश घुम्न जाने व्यवस्था मिलाउँदै आएका छौं । उहाँहरुको सेवा सुविधालाई ध्यानमा राखेर गुणस्तरिय सेवा दिने उद्देश्यले सन् २०१२ बाट यसको सुरुवात गरेका हौं ।
कुन–कुन देशमा घुम्न लैजानु हुन्छ ?
विशेषगरि थाइल्याण्ड, मलेसिया, सिंगापुर लगायतका विश्वका विभिन्न मुलुकहरुमा टुर प्याकेज दिएर लैजान्छौं । नेपालका विभिन्न पर्यटकिय गन्तब्यहरुमा पनि नेपालीहरुलाई घुम्ने व्यवस्था गर्दै आएका छौं ।
नेपालमा आन्तरिक पर्यटनको सम्भावना कस्तो छ ?
नेपालमा आन्तरिक पर्यटनको राम्रो सम्भावना छ । नेपालीहरु विदाहरुमा घुम्न जाने कल्चर बढ्दै गएको छ । घुम्न जाँदा गाइड भयो भने सहज हुने भएको हुँदा पनि उहाँहरु गाइड लिएर जान रुचाउनु हुन्छ । नेपालको धेरै ठाउँमा आन्तरिक पर्यटकले नै धानेको अवस्था पनि छ ।
आन्तरिक पर्यटन प्रर्वधन गर्नका लागि राज्य र पर्यटन व्यवसायीहरुले के गर्नु पर्छ ?
राज्यको नीति कार्यान्वयन मुखि हुनुपर्दछ । कितावमा लेखिएका कुरालाई व्यवहारमा उतार्नु पर्दछ । सरकारले कर्मचारीहरुलाई विशेष व्यवस्था गरेर उनीहरुलाई घुम्ने कुरालाई प्रोत्साहन गर्नु आवश्यक छ । कर्मचारीलाई तनावबाट मुक्त हुन लागि पनि घुम्न जादाँ उनीहरु ताजकी हुने गर्दछन् । जसले गर्दा उनीहरुले राम्रो काम गर्न सक्दछन् । अहिले नेपालका विभिन्न कम्पनिले आफ्ना कर्मचारी तथा डिलरहरुलाई विभिन्न अफर दिएर देश तथा विदेशमा घुम्ने व्यवस्था गरेको हुन्छ । जसले गर्दा उनीहरुमा काम प्रति अझ लगाव हुन्छ ।
तपाईहरुले सेवा दिनु भएका नेपालीहरु कतिको सन्तुष्ट हुनुहुन्छ ?
उहाँहरु सन्तुष्ट हुनुहुन्छ । हाम्रो अरुसंग जोडिएर व्यवसाय गर्नु पर्ने भएको हुँदा कहिले काँही थोरै सम्झौता गर्नु पर्न सक्छ । हामीले धेरैसंग मिलेर व्यवस्थापन गरेर प्याकेज बनाउने हो । हामीले राम्रो सेवा दिन्छौं । नेपालीहरुलाई घुम्ने कल्चरको विकासको लागि हाम्रो कम्पनि लागि रहेको छ । साथै यससंग सम्बन्धीत विभिन्न कुराहरुको जानकारी पनि दिने गरेका छौं । जसको कारण उहाँहरुलाई अझ सहज होस् भन्ने हाम्रो चाहना छ ।
नेपालीहरुमा घुम्ने संस्कृतिको विकास कतिको भएको पाउनु भयो ?
विदेशी पर्यटक देख्ने वित्तिकै मोरिहत्ते गर्ने दिन विस्तारै घटेको छ । विदेशीले भन्दा नेपालीहरुमा बढि खर्च गर्ने गरेको देखिन्छ । नेपालीहरु घुम्न जाँदा खर्चमा सम्झौता गरेको देखिदैन । नेपालीहरुमा घुम्न जाने कल्चरको विकास बढ्दै गएको छ । विदेश मात्र होइन स्वदेशमा पनि घुम्ने धेरै ठाउँहरु रहेका छन् ।
व्यवसायमा कतिको प्रतिस्पर्धा रहेको छ ?
प्रतिस्पर्धा स्वस्थ र अस्वस्थ दुई किसिमको हुन्छ । नेपालमा चाहि अस्वस्थ प्रतिस्पधां रहेको छ । होलिडेस्को व्यवसायमा धेरै जिम्मेवारी पूर्ण ढंगबाट काम गर्नु पर्नेमा केहि गैर जिम्मेवार भइदिँदा गाह्रो हुन्छ । तर सबैलाई स्वस्थ्य ढंगबाट प्रतिस्पर्धा गर्दा सबैलाई राम्रो हुन्छ । बजार नै विगार्ने काम गर्न भएन ।
भावि योजना ?
नेपाल पर्यटनमैत्री देश हो । यसमा नै लाग्ने हो । आन्तरिक पर्यटन प्रबर्धनका लागि केहि कामहरु गरिरहेका छौं । ल्याण्ड लिङ्क देश भएको कारण विश्व बजारमा नेपाललाई चिनाउने अभियानमा छौं ।
अन्त्यमा ?
पर्यटन क्षेत्र भनेको एकदम संवेदनशिल क्षेत्र हो । त्यसले यो क्षेत्रमा जस्तो पनि मान्छे आउँदा त्यसको असर विश्व बजारमा पुग्दछ । यो स्वतन्त्रपुर्वक जो पनि आएर गर्ने व्यवसायह होइन किनभने देशको इञ्जत र प्रतिष्ठासंग जोडिएका कुरालाई खेलाची गर्न हुन्न । अब कृषि प्रधान देश होइन दृश्य प्रधान देश भन्नु पर्दछ । देशका युवाहरुलाई यहि रोजगारी दिने व्यवस्था गर्नु पर्दछ । त्यसको एउटै विकल्प भनेको पर्यटन उद्योग हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij