२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायन्स फाइनान्सको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रिलायन्स फाइनान्सको १६औँ वार्षिक साधारण सभा सम्पन्न

1.1K
Shares

काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेडको १६औँ वार्षिक साधारण सभा पुस ३० गते काठमाण्डौको बत्तीसपुतली, गौशालास्थित अनुपम फुड ल्याण्ड एण्ड व्याङ्क्वेटमा सम्पन्न भएको छ। सभाको उद्घाटन संस्थाका अध्यक्ष कुश प्रसाद मल्लीले पानसमा दीप प्रज्वलन गरी गरेका थिए ।
साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को १६औँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित सोही अवधिको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित भयो।

साथै, बाह्य लेखापरीक्षकको नियुक्ति तथा विशेष प्रस्तावअन्तर्गत वित्तीय संस्थाहरूबीच गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन भयो।

संस्थाले सार्वजनिक गरेको विवरणअनुसार अघिल्ला वर्षहरूमा केही उतार–चढाव देखिए तापनि चालु आर्थिक वर्षमा वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार आएको जनाएको छ। गत आर्थिक वर्षको तुलनामा निक्षेप १.०३ प्रतिशतले वृद्धि भई रु. ८६४ करोड पुगेको छ भने कर्जा प्रवाह ८.७० प्रतिशतले वृद्धि भई रु. ७०९ करोड पुगेको छ।

त्यस्तै, संस्थाको मुनाफा ६१ प्रतिशतले वृद्धि भई रु. ६ करोड ८६ लाख पुगेको छ। संस्थाले कर्जा असुली प्रक्रियालाई योजनाबद्ध र प्रभावकारी रूपमा अघि बढाइरहेको जनाएको छ।

साधारण सभामा शेयरधनीहरू डा. बालकृष्ण चापागाईं र श्री दीपक आचार्यले वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै संस्थाको निरन्तर प्रगतिको कामना गरे। साथै विभिन्न शेयरधनीहरूले लिखित सुझावसमेत प्रस्तुत गरेका थिए।

सभाका अवसरमा संस्थामा १० वर्षभन्दा बढी समय सञ्चालकको रूपमा योगदान पुर्‍याएका पूर्व सञ्चालक विष्णुमान जोशीलाई सम्मानपत्र प्रदान गरी कदर गरिएको थियो। साथै १० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो।

यसैगरी, कार्यसम्पादनका आधारमा उत्कृष्ट काम गर्ने तीन शाखालाई बेष्ट ब्रान्च अवार्ड प्रदान गरिएको संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij