२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पुस १६ गतेदेखि सर्वसाधारणलाई सालपा विकास बैंकले आईपीओ निष्काशन गर्ने

पुस १६ गतेदेखि सर्वसाधारणलाई सालपा विकास बैंकले आईपीओ निष्काशन गर्ने

1.3K
Shares

काठमाडौं– सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। यसका साथै बैंकले ८६ लाख १९४ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरुलाई सुरक्षित राखी बाँकी रहने १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस ३० गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको समयमा वित्तीय दायित्व पूण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

यस बैंकको केन्द्रीय कार्यालय खोटाङमा रहको छ। बैंकको कार्यक्षेत्र नै खोटाङ जिल्ला हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij