काठमाडौं – बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित होटल शृङ्खला लेमन ट्री होटल्स लिमिटेडबीच होटल सञ्चालनको लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट इन्जिनियर श्री विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडको तर्फबाट मुख्य कार्यकारी अधिकृत श्री विलास पवारले आज काठमाण्डौंमा एक समारोह बीच सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बन्दीपुर केबल कारका अध्यक्ष रामचन्द्र शर्मा, बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट इन्जिनियर श्री विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडको तर्फबाट मुख्य कार्यकारी अधिकृत श्री विलास पवार, आरकेडीका कार्यकारी समन्वय अधिकृत वसन्त शर्मा, बन्दीपुर केबल कार लिमिटेडका सिइओ डा. रोमन मान श्रेष्ठले यो सम्झौताले नेपालको पर्यटनको क्षेत्रलाई विश्वमा चिनाउने बताउँदै नेपाललाई पर्यटनको गन्तव्य मार्गको रुपमा विकास गर्दे लैजाने बतए ।
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड बन्दीपुर क्षेत्रमा पर्यटन विकासको अग्रणी संस्था हो । लेमन ट्री होटल्स लिमिटेड भारतको एक प्रमुख होटल शृङ्खला हो । जसको एसिया र मध्यपूर्वमा ठुलो उपस्थिति रहेको छ ।
यसको वैश्विक आरक्षण नेटवर्क, कर्पोरेट यात्रा खण्ड र लक्जरी–मध्यम श्रेणीको ग्राहक आधारले बन्दीपुरलाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा अझ प्रबल रूपमा स्थापित गर्ने अपेक्षा राखिएको छ ।
यस सम्झौता अनुसार बन्दीपुरस्थित होटल अब “लेमन ट्री होटल्स“ ब्राण्डको नेटवर्कको हिस्सा बनेर सञ्चालनमा आउनेछ । यसले होटलको व्यवस्थापन, ब्राण्ड मान्यता, अन्तर्राष्ट्रिय बजारिकरण, सेवा विस्तार गुणस्तर नियन्त्रण, मानव संशाधन विकास तथा वैश्विक आरक्षण प्रणालीमा पहुँच सुनिश्चित गर्नेछ ।यो सहकार्यलाई बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको विकासको एउटा रणनीतिक टर्निङ पोइन्ट मानिएको छ । अन्तर्राष्ट्रिय ब्राण्डसँगको साझेदारीले कम्पनीको राजस्व स्थायित्व, होटलको अकुपेन्सी दरमा वृद्धि, विदेशी मुद्रा आर्जन, र ब्राण्ड मूल्य तथा कम्पनीको छविमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
यसले लगानीकर्ताको विश्वास बढाउने, बजारमा कम्पनीको विश्वसनीयता वृद्धि गर्ने तथा पर्यटन–केन्द्रित दीर्घकालीन वृद्धिका सम्भावनाहरूलाई अझ स्पष्ट बनाउने अपेक्षा छ । साथै, बन्दीपुर केवलकार, होटल र समग्र गन्तव्य पर्यटनबीचको सहकार्यबाट कम्पनीको व्यवसायिक दायरा विस्तार हुने अनुमान गरिएको छ । यस सम्झौतापछि बन्दीपुरमा अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा वृद्धि, स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना, सेवाको गुणस्तरमा वृद्धि तथा समग्र पर्यटन क्षेत्रको पूर्वाधारमा सुधार हुने अपेक्षा गरिएको छ । यस सम्झौताको परिणाम स्वरूप, बन्दीपुरको होटल शीघ्र नै औपचारिक रूपमा लेमन ट्री होटल्सको ब्राण्ड नाम तथा मानकअनुरूप सञ्चालन सुरु गर्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij