काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आज काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आफ्नो ३९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभाको अध्यक्षता बैंकका अध्यक्ष श्री वेणुगोपाल रंगनाथनले गरेका थिए ।
सभामा बैंकको आर्थिक वर्ष २०८१/८२ को उल्लेखनीय वित्तीय प्रदर्शन प्रस्तुत गरिएको थियो। उक्त अवधिमा बैंकले ४ अर्ब ७० करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ भने करपछिको नाफा ३ अर्ब रुपैयाँ पुगेको छ। बैंकको इक्विटीमा प्रतिफल १४.३ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी ३० रुपैयाँ रहेको छ, जसले बैंकको सुदृढ वित्तीय अवस्था र स्थायित्वलाई प्रतिबिम्बित गर्छ।
सभाले सञ्चालक समितिको सिफारिसअनुसार चुक्ता पुँजीमा १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसले पछिल्ला तीन वर्षयता स्थिर नगद लाभांश वितरण गर्दै आएको बैंकको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष रंगनाथनले लगानीकर्ता, ग्राहक, नियामक निकाय, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे। उनले भने, ‘नेपालको एकमात्र अन्तर्राष्ट्रिय बैंकका रूपमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले हाम्रो विविधतामार्फत व्यापार र समृद्धि प्रवर्द्धन गर्ने उद्देश्यमा प्रतिबद्ध छ। साथै, असार अन्त्य २०८२ सम्मको चुक्ता पुँजीमा १९ प्रतिशत नगद लाभांश सिफारिस गरिएको छ, जसले पछिल्ला तीन वर्षयता स्थिर लाभांश वितरणलाई निरन्तरता दिएको छ,’ उनले भने ।
हाल स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको स्वामित्वमा ७०.२१ प्रतिशत सेयर रहेको छ भने सर्वसाधारणको स्वामित्व २९.७९ प्रतिशत रहेको छ। बैंकले नेपालमा आर्थिक वृद्धि प्रवर्द्धन गर्दै उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता निरन्तर कायम राख्ने जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij