२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

झापामा नरिवलको व्यावसायिक खेती सुरु

झापामा नरिवलको व्यावसायिक खेती सुरु

940
Shares

झापा- समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रुपमा नरिवलको व्यावसायिक खेती सुरु गर्नुभएको हो ।

पहिलो चरणमा यस वर्ष एक बिगाहा क्षेत्रफल जग्गामा नरिवलका ३०० बिरुवा लगाएको उहाँले बताउनुभयो । बिरुवा रोपेको कम्तीमा नौ वर्षपछि नरिवलले फल दिन थाल्नेछ । जङ्गली हात्तीको उपद्रो बढेसँगै वैकल्पिक खेतीको रुपमा धान खेत मासेर चिया, तेजपत्ता, मरिच, सुपारी लगायतका विभिन्न खेती गर्दै आउनुभएका उहाँले पहिलो पटक नरिवलको व्यावसायिक खेती गर्नु भएको हो ।

“बारीमा पहिल्यैदेखि छ वटा नरिवलका रुख हुर्किएर फल दिइरहेका थिए”, उहाँ भन्नुहुन्छ, “एउटै बोटबाट वर्षेनी रु १७ हजारभन्दा बढी आम्दानी दिइरहेको छ, अब व्यावसायिक उत्पादनका लागि धेरै मात्रामा बिरुवा रोपेको छु ।”

समुन्द्र सतहदेखि एक हजार मिटरसम्मको जमिनमा नरिवल खेती फस्टाउने कृषि विज्ञहरुको भनाइ छ । झापामा सयौं वर्षदेखि आफ्नो बारीमा थोरै मात्रामा नरिवल हुर्काउने चलन छ । तर, व्यावसायिक उत्पादनका दृष्टिले धेरै जग्गामा नरिवलखेती गर्ने उहाँ कोशी प्रदेशकै पहिलो कृषक हुनुहुन्छ ।

आगामी वर्ष ७०० नरिवलका बिरुवा लगाउने तयारी गरेको उहाँले बताउनुभयो । “नरिवलको फल नपाक्दै काँचैमा पनि बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “बजारको कुनै समस्या छैन, उत्पादन गर्न सके बोटबाटै बिक्री हुन्छ ।”

नेपालमा हाल काँचो नरिवलको समेत उच्च माग छ । नरिवलको रस स्वास्थ्यवर्धक भएकाले भारतबाट आयात गरेर नेपाली बजारमा यसको बिक्री हुँदै आएको छ । सुकेको नरिवलको फलको मूल्य झन् उच्च छ । काँचो नरिवल बोटबाटै रु ९० देखि रु १०० सम्ममा बिक्री हुने गरेको कृषकहरु बताउँछन् । त्यही नरिवल बजारमा व्यापारीहरुले रु २५० सम्ममा बिक्री गर्दै आएका छन् ।

सुपारी जोन झापाका पूर्व अध्यक्ष निलकण्ठ तिवारीले बहुउपयोगी गुण भएको नरिवलखेतीतर्फ किसान आकर्षित हुनु सुखद् खबर भएको बताउनुभयो । उहाँले पानी नजम्ने प्रशस्त प्राङ्गरिक पदार्थ भएको खुकुलो माटोमा नरिवल राम्रोसँग फस्टाउने बताउनुभयो ।

विगत तीन वर्षदेखि धुलाबारी चोकमा नविरल पानी बेच्दै आउनुभएका हरिदेव सरदारले स्थानीय उत्पादन नभएका कारण भारतबाटै काँचो नरिवल ल्याउने गरेको बताउनुभयो । उहाँले दैनिक १०० देखि १५० सम्म नरिवलको रस बेच्दै आउनुभएको छ । बोट रोपेको नौदेखि १० वर्षमा नरिवलले फल दिने बताइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij