२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायन्स स्पिनिङ मिल्सले पायो आईपीओ निष्कासन अनुमति

रिलायन्स स्पिनिङ मिल्सले पायो आईपीओ निष्कासन अनुमति

920
Shares

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। बोर्डले मंगलबार निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई पत्र लेख्दै ‘सम्मानित उच्च अदालत पाटनको परमादेशअनुसार रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको साधारण सेयरको निष्कासन कार्य अघि बढाउन’ बनेको हो ।

बोर्डले दिएको पत्रमा भनिएको छ, ‘निवेदक कम्पनीको सेयर निष्कासन सम्बन्धमा कानुनबमोजिम आवश्यक निकासा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्कासनसम्बन्धी प्रक्रिया अगाडि बढाउनु हुन जानकारी गराइन्छ ।’

यसअघि २०८१ असार १२ मा आईपीओ निष्कासनका लागि बोर्डबाट स्वीकृति प्राप्त भए पनि विभिन्न प्रश्न उठेको भन्दै रोकिएको थियो । त्यसविरुद्ध रिलायन्स स्पिनिङ मिल्स परमादेश माग गर्दै उच्च अदालत पाटन पुगेको थियो । बोर्डले अनुमति दिएसँगै १ अर्ब ७० करोड पुँजी भएको रिलायन्स कम्पनीको सर्वसाधारण पनि सेयरधनी बन्ने भएका छन् । बोर्डले आईपीओ निष्कासनको अनुमति दिएसँगै नेपालको प्रमुख निर्यातमूलक उद्योग रिलायन्स अब नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रियामा प्रवेश गरेको छ ।

रिलायन्स स्पिनिङ मिल्स अग्रणी औद्योगिक घराना गोल्याण ग्रुपले सञ्जाल गरिरहेको छ। २०५४ सालमा स्थापित उद्योगले पछिल्लो समय उत्पादन र नाफामा उल्लेख्य सुधार गर्दै आएको छ । कम्पनीद्वारा सार्वजनिक वार्षिक वित्तीय विवरणअनुसार २०८१/८२ मा १ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ४२ प्रतिशत बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा ८६ करोड ५० लाख रुपैयाँ थियो ।

वित्तीय विवरणमा रिलायन्सको खुद नाफामा ८ सय ४५ प्रतिशत वृद्धि भएको देखिन्छ । ०८०/८१ मा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ४७ करोड ६३ लाख ७८ हजार ८६० रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ ।

९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिरिङ मिल्स हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ ।

रिलायन्सका उत्पादनहरू नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ । यसले मुलुकको समग्र अर्थ प्रणालीमा आयात तथा निर्यातमा सन्तुलन कायम गर्न महत्त्वपूर्ण योगदान दिने गरेको छ ।

रिलायन्सको नेतृत्व हाल गोल्याण समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्याणले गरिरहेका छन् । उद्योगले अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij