काठमाडौँ- नेपालकै एकमात्र रोटाकिड्स नेपालले रोटरी इ–क्लब अफ डिस्ट्रिक्ट ३२९२, नेपाल तथा थण्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको सहकार्यमा डिसेम्बर १५, २०२५ मा ललितपुरको धापाखेलस्थित जेम्स स्कूलमा ‘सेल्फ–डिफेन्स कार्यशाला २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ।
८ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरिएको यो कार्यशालाको मुख्य उद्देश्य उनीहरूलाई व्यक्तिगत सुरक्षासम्बन्धी सीप, स्थितिजन्य सजगता र आधारभूत आत्म–रक्षा क्षमता विकास गराउँदै आत्मविश्वास र सुरक्षाबोधलाई सशक्त बनाउनु थियो।
कार्यशालामा करिब ५० जना बालबालिकाको सहभागिता रहेको थियो। रोटाकिड्स नेपालका अध्यक्ष सम्यक राज श्रेष्ठले सहभागीहरूलाई स्वागत गर्दै आत्मरक्षाको ज्ञान सधैँ उपयोगी हुने र नेपालका दिग्गज खेल प्रशिक्षकहरूबाट सिक्न प्रेरित गरे। उनले युवानेतृत्वको महत्त्वबारे प्रकाश पार्दै अभिभावक क्लब रोटरी इ–क्लब अफ डिस्ट्रिक्ट ३२९२, नेपालको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे।
यो कार्यक्रम तेक्वान्दोमा तीन पटकका दक्षिण एसियाली खेलकुद (SAG) स्वर्ण पदक विजेता तथा राष्ट्रिय प्रशिक्षक आयशा शाक्यले सञ्चालन गरेकी थिइन्। उनीसँगै अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा हिमालयन रोडिज सिजन–४ की फाइनलिस्ट सीता तामाङले विभिन्न आत्म–रक्षा अभ्यासहरू सिकाउनुका साथै जुम्बा र अन्य मनोरञ्जन गतिविधिमार्फत बालबालिकालाई थप उत्साह प्रदान गरेकी थिइन्।
कार्यक्रममा विशिष्ट अतिथिकारूपमा ओलम्पियन, २ पटकका एसियाली खेलकुद च्याम्पियन तथा ४ पटकका दक्षिण एसियाली खेल च्याम्पियन दीपक विष्ट उपस्थित थिए। उनले बालबालिका, अभिभावक र अतिथिहरूलाई प्रेरणादायी सम्बोधन गर्दै खेलले जीवनमा अनुशासन, आत्मविश्वास र कडा परिश्रम सिकाउने बताए। साथै, उनले आफ्ना सुरुवाती दिनदेखि ओलम्पिकसम्मको यात्रा सुनाउँदै बालबालिकालाई खेल क्षेत्रमा करियर बनाउने प्रेरणा पनि दिए।
समापन सत्रमा, रोटरी इ–क्लब अफ डिस्ट्रिक्ट ३२९२, नेपालका उपाध्यक्ष कविन्द्र नापितले कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सबैलाई धन्यवाद दिँदै भविष्यमा यस्ता बाल–केन्द्रित कार्यक्रमलाई अझ बढी सहयोग गर्ने प्रतिबद्धता जनाए। सहभागी बालबालिकाहरूले आत्मविश्वास, आत्मारक्षा सम्बन्धी सीप र महत्वपूर्ण जीवन उपयोगी सीपहरु सिक्दै कार्यशालाबाट आफूले विशेष अनुभव प्राप्त गरेको बताएका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij