काठमाडाैं – लगानी बोर्ड र नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनी लिमिटेडबीच पाँचखाल विशेष आर्थिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी सम्बन्धमा समझदारी भएको छ ।
समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनी लिमिटेडका तर्फबाट आधिकारिक प्रतिनिधि यिन लिउबिङले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार प्रस्तावक कम्पनीले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपश्चात् विस्तृत अध्ययन प्रतिवेदन तयार गरी करिब १० महिना भित्रमा लगानी बोर्डको कार्यालयमा पेश गर्नेछ ।
उक्त हस्ताक्षर कार्यक्रममा प्रस्तावक कम्पनीका आधिकारिक प्रतिनिधि यिन लिउबिङले यस परियोजना सफल बनाउन सक्दो पहल गर्ने उल्लेख गरे । विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी अधिकृत ई. छत्र बहादुर कटुवालले यस परियोजनामा प्राधिकरणको तर्फबाट पूर्ण सहयोग रहने तथा आवश्यक सेवा सुविधा उपलब्ध गराउने बताए ।
लगानी बोर्डका प्रमूख कार्यकारी अधिकृत ज्ञवालीले यस परियोजनाको विस्तृत प्रतिवेदन समयमै तयार हुने र सबै मापदण्ड पूरा गरी परियोजना अघि बढ्ने विश्वास व्यक्त गरे ।
प्रस्तावक कम्पनी नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनी लिमिटेड चीनको कानुन अन्तर्गत स्थापित हेहेहुई ग्रुप कम्पनी लिमिटेडको पूर्ण स्वामित्व रहेको कम्पनी भएको र यस कम्पनीले नेपालमा सार्वजनिक–निजी साझेदारी ढाँचामा पाँचखाल विशेष आर्थिक क्षेत्रको विकास तथा सञ्चालनका लागि मिति २०८१ चैत्र २८ मा लगानी बोर्डको कार्यालयमा प्रस्ताव पेश गरेकोमा लगानी बोर्डको ६५औं बोर्ड बैठकले उल्लिखित प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij