काठमाडौँ – प्राधिकरणले बिजुली काटेसँगै अर्घाखाँची सिमेन्ट उद्योग बन्द भएको छ । डेडिकेटेड र ट्रंकलाइनमार्फत बिजुली उपभोग गरेपछि थप प्रिमियम बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले आठ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको अर्घाखाँची सिमेन्ट उद्योगको बिजुली काटेपछि कात्तिक ४ गतेदेखि बन्द भएको हो।
अर्घाखाँची सिमेन्टले दैनिक ६० हजारभन्दा बढी बोरा उत्पादन गर्दै आएको थियो। प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टको ४४ करोड ८४ लाख रुपैयाँ बक्यौता भुक्तानी गर्नुपर्नेछ।
२०७१ सालमा रुपन्देहीस्थित भैरहवामा स्थापना भएको कम्पनीले ओपीसी सिमेन्ट उत्पादन सुरु गरेको थियो। कम्पनीले २०७६ सालदेखि पीपीसी सिमेन्ट पनि उत्पादन गर्दै आएको छ। दैनिक ३ हजार ५ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि उद्योग पछिल्लो समय ६५ प्रतिशत क्षमतामा सञ्चालनमा रहेको थियो।
कम्पनी प्रशासनका अनुसार प्राधिकरणले बक्यौता नतिरेको भन्दै लाइन काटेपछि उद्योग बन्द भएको हो ।
कम्पनी बन्द भएपछि उद्योगमा कार्यरत तीन सयभन्दा बढी मजदुरलाई अनिश्चितकाका लागि बिदा गरिएको बताइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij