२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पूर्वसचिव डा. मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

पूर्वसचिव डा. मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

1.4K
Shares

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सचिव डा. संगीता मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार मिश्रविरुद्धको फाइल अदालतमा दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ। आयोगका स्रोतले भने, “विशेष अदालतमा भर्खरै आरोप पत्र पेश भएको हो, फाइल रुजु र दर्ता गर्ने काम भइरहेको छ।”

डा. मिश्र केही साताअघि जेन जेड नेतृत्वको सरकार गठनपछि स्वास्थ्य मन्त्रालयमा सक्रिय हुन थालेकी थिइन्। उनको नाम स्वास्थ्य मन्त्रीको रूपमा समेत चर्चामा आएको थियो। तर, सरकारले स्वास्थ्य सचिवका रूपमा डा. विकास देवकोटालाई नियुक्त गरेपछि उनी बिदामा बसेकी थिइन्।

स्वास्थ्य मन्त्रीका रूपमा उनको नाम सार्वजनिक रूपमा चर्चामा आएपछि अख्तियारका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्की निकट संयन्त्रलाई ‘उनमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमै भ्रष्टाचारको आरोप पत्र दर्ता हुनसक्ने’ जानकारी गराएका थिए। त्यसपछि अचानक उनको नाम मन्त्रीको सूचीबाट हटाइएको थियो।

अख्तियारले मिश्रमाथि स्वास्थ्य सेवा विभागको महानिर्देशक रहँदा गरिएको खरिद प्रक्रियासँग सम्बन्धित अनियमितताको फाइलमा अनुसन्धान पूरा गरी मुद्दा दायर गरेको हो। प्रारम्भिक जानकारी अनुसार खरिदसम्बन्धी निर्णयमा सार्वजनिक पदको दुरुपयोग भएको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

डा. मिश्र लामो समयसम्म स्वास्थ्य मन्त्रालयका विभिन्न तहमा कार्यरत थिइन्। जेन जेडको आन्दोलनपछि नयाँ सरकार बनेपछि उनको सक्रियता बढेको थियो। मन्त्री बन्ने चर्चा त थियो, तर अख्तियारको अनुसन्धानकै कारण अन्ततः उनी मन्त्री बन्न सकिनन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij