काठमाडौं – आर्थिक वर्ष २०८२–८३ को दुई महिनामा १२ अर्ब ७८ करोड बराबरको साधारण शेयर, एक अर्ब ८३ करोड बराबरको बोनश शेयर, एक अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र ९२ करोड ५० लाख रुपैयाँ बराबरको एफपीओ गरी कुल १७ अर्ब रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
केन्द्रिय बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार पुँजी बजार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झिनो अंकले घट्न पुगेको छ। चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा धितोपत्र बजार पूँजीकरण ८.८६ प्रतिशतले बढेर ४४ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्म धितोपत्र बजार पूँजीकरण ४१ खर्ब ३ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै, राष्ट्र बैंकका अनुसार भदौ मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७६ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९४ जलविद्युत्कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन् । २०८१ भदौमा सूचीकृत कम्पनीहरूको संख्या २६७ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.९ प्रतिशत रहेको छ ।
यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.९ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ११.३ प्रतिशत रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij