काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विषम परिस्थितिमा सरकारको नीतिगत मार्गदर्शनमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई एकजुट भएर अहोरात्र खटिन आग्रह गरेको छ ।
अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनालले आज विज्ञप्ति जारी गर्दै आन्दोलनका सहिदहरूको सपना पूरा गर्दै भ्रष्टाचार नियन्त्रण गरी समृद्ध र सुशासनयुक्त नेपालको निर्माणका लागि सक्रियपूर्वक लाग्न आम कर्मचारीहरूलाई आग्रह गर्नुभएको हो ।
साथै सरकारले राष्ट्रसेवक कर्मचारीको कानुनबमोजिमका सेवाका सर्तको सुरक्षा र वृत्तिविकास एवं सेवा, सुविधामा असर पर्नेगरी कुनै निर्णय नलिने उहाँले जानकारी गराउनुभएको छ ।
“सम्पूर्ण निजामती कर्मचारीको केन्द्रीय निकाय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीको हैसियतमा म सबै कर्मचारीलाई स्वतः स्फूर्त रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नमा केन्द्रित हुन र कर्मचारीको मनोबल कमजोर पार्ने खालका क्रियाकलाप एवं कार्यालयको काममा बाधा पर्नेगरी अन्य कुनै गतिविधिमा संलग्न नहुन आह्वान गर्दछु”, मन्त्री खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उहाँले सबै सरकारी कार्यालयमा सुरक्षित कार्य वातावरण निर्माण गरी निर्वाध सेवा प्रवाह सुनिश्चित गर्नसमेत नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । कार्यबोध कम भएका कार्यालयको दरबन्दी घटाई कार्यबोझ बढी भएका र सेवा प्रवाहमा प्रत्यक्ष संलग्न हुने कार्यालयमा दरबन्दी वृद्धि गर्नेगरी कानुनबमोजिम सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने वर्तमान सरकारको नीति रहेकोसमेत उहाँले जानकारी दिनुभयो ।
मन्त्रालयले प्रक्रियागत सरलता, शीघ्रता र पारदर्शीतासहितको गुणस्तरीय सेवा प्रवाहमा अविच्छिन्नता सुनिश्चित गर्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारीमा उच्च मनोबल कायम राखिरहन सरकार सधैँ प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।
गत भदौ २३ र २४ गते युवाको अगुवाइमा भएको आन्दोलनको मर्म र भावनाअनुरूप सम्पूर्ण राष्ट्रसेवक कर्मचारीले आफूलाई रूपान्तरण गरी नागरिकको अपेक्षा पूरा गर्ने किसिमले शीघ्र एवं गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित हुनु नै प्रशासन संयन्त्रको व्यावसायिक कर्तव्य र दायित्व भएको विज्ञप्तिमा जनाइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij