२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पुख्र्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

पुख्र्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

1K
Shares

कञ्चनपुर- दोधारा चाँदनी नगरपालिका–३ का रेशम बादी पुख्र्यौली पेसा वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्दै आउनुभएको थियो । पछिल्ला केही वर्षयता परम्परागत पेसाले मात्रै घर खर्चको जोहो गर्न मुस्किल भएपछि उहाँले अहिले उक्त पेसाको विकल्प खोज्न थाल्नुभएको छ । वाद्यवादनका सामग्री बनाउन कच्चा पदार्थ पाउन कठिन भएपछि पेसा नै सङ्कटमा पर्न थालेको बादी बताउनुहुन्छ ।

“मेरो बुबाबाजेले मादल, दमाहालगायत वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्नुभएको हो, त्यहीँ पेसालाई मैले पनि निरन्तरता दिएको थिएँ”, बादीले भन्नुभयो, “अहिले यो पेसाबाट घरखर्च जोहो गर्नसमेत मुस्किल पर्छ ।” वाद्यवादनका सामग्री बनाउन कच्चा पदार्थका रूपमा छाला र (खमारी) काठ आवश्यक पर्ने भए पनि अहिले सहज रुपमा पाउन मुस्किल छ । यसकारण पनि यो समुदायले पुख्र्यौली पेसाबाट जीविकोपार्जन गर्न चुनौती थपिएको हो ।

“केही वर्षअघिसम्म तीजको बेला र दसैँतिहारमा मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो”, बादीले भन्नुभयो, “अहिले तीजमा डिजेमा नाच्दछन् मादलको माग आउन छाड्यो, दसैँका बेलामा थारू समुदायले मादल बनाउन धेरै माग गर्छन् ।” उहाँले थारू समुदायमा दसैँको समयमा सखिया नाच नाच्ने भएकाले यो सिजनमा मादल बनाएर मात्र रु ३० हजारदेखि रु ४० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

अहिले पनि थारू समुदायबाट मादल बनाउन धेरै माग आएको छ । “अहिले मादल बनाउन न छाला पाइन्छ त (खमारी) काठ पाइन्छ, मादलमा बाख्राका छालाको प्रयोग हुन्छ”, उहाँले भन्नुभयो, “भारतीय छिमेकी सहरमा छाला पाइन्छ, नाकामा सुरक्षाकर्मीले ल्याउन दिँदैनन् ।” दसैँका समयमा मादल बनाएको सानो र ठूलोको रु दुई हजारदेखि रु १२ हजारसम्म लिने गरेको बादीले बताउनुभयो ।

छाला र (खमारी) काठ नपाइने भएकाले पछिल्लो समय नयाँ मादल बनाउनेभन्दा पनि मादल मर्मतका लागि आउने गरेको उहाँको भनाइ छ । यही समस्याका कारण पेसा नै सङ्कटमा परेपछि विकल्पका रूपमा जुत्ताको घरेलु उद्योग सञ्चालन गरेको बादी बताउनुहुन्छ । “जतिबेलासम्म छाला र (खमारी) काठ सहज रूपमा पाइन्थ्यो यसबाट राम्रो आम्दानी हुन्थ्यो ।” वादीले भन्नुभयो, “अहिले जङ्गलबाट (खमारी) काठ ल्याउन मिल्दैन, छाला सहज रूपमा पाइँदैन, यी दुई मुख्य कुरा नभएपछि वाद्यवादनका सामग्री बनाउन सकिँदैन ।”

दामाहा बाजा बनाउनका लागि छाला पाउन मुस्किल हुने गरेको छ । उहाँका अनुसार भारतीय बजारमा एउटा छालाको रु एक हजारसम्म खरिद गर्न पाइन्छ । “यहाँ छालाका लागि हामीले बाख्रा किन्नुपर्छ त्यो अत्यन्त महँगो हुन्छ, छालामात्र पाउँदैन”, बादीले भन्नुभयो, “भारतीय सहरहरूमा पाइन्छ, सीमानाकामा ल्याउन पाइँदैन ।”

अहिले जुत्ता उद्योगबाट घरखर्चको जोहो गरिरहेका बताउँदै उहाँले सिजनमा भने मादल बनाउने गरेको बताउनुभयो । “अहिले सिजनमा माग आएका बेलामात्र यो पेसा गर्छु, जीविकोपार्जनका लागि घरेलु जुत्ता पसल सञ्चालन गरेको छु”, बादीले भन्नुभयो, “पाँच छोराछोरीसहित परिवारको जोहो त्यसैबाट भएको छ ।” बादी समुदायको पुख्र्यौली पेसा जोगाउनका लागि सरकारले पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

बादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाएर बिक्री गर्ने हो । विभिन्न पर्व विशेषमा समेत नाचगान गरेर जीविकोपार्जन गर्ने यो समुदाय बढ्दो आधुनिकतासँगै सङ्कटमा पर्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij