२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

झापा इनर्जीको आईपीओमा आवेदन दिने अवधि एक दिन थप

झापा इनर्जीको आईपीओमा आवेदन दिने अवधि एक दिन थप

1.5K
Shares

काठमाडौं -झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ २९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले गत भदौ २४ गते निष्काशन बन्द गर्ने सूचना प्रकाशित गरेको थियो। तर, सो दिनको विषम परिस्थितिका कारण निष्काशन अवधि आज एक दिनका लागि थप गरेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले पहिलो चरणमा ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५७ हजार २९ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा सामूहिक लगानी कोषहरुका लागि २८ हजार ५१४ कित्ता र कर्मचारीहरुका लागि ११ हजार ४०६ कित्ता छुट्याइ सर्वसाधारण लगानीकर्ताहरुका लागि ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको १० मेगावाटको ग्रीडमा आबद्ध सौर्य विद्युत आयोजनाको कुल अनुमानित लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ रहेको छ। सो आयोजनाको विद्युत अनुमतिपत्र २२ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि इक्विटीको ९.५५ वर्ष र प्रोजेक्टको ८.०६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि इक्विटीको १३.४६ वर्ष र प्रोजेक्टको १५.६६ वर्ष रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij