काठमाडौं -बीमा प्राधिकरण अध्यक्षका लागि आवेदन खुलेको छ । अर्थ मन्त्रालयले आज भदौ १४ गते सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयले ७ दिन भित्र आवेदन दिन भनेको छ। तोकिएको योग्यता पुगेका तथा ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने छन् । आवेदनको साथ व्यवसायिक कार्ययोजना पनि पेश गर्नु पर्ने छ। बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) (क) बमोजिम बीमा, मौद्रिक, बैङ्किङ्ग, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशाश्त्र वा कानून विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच ववर्षको उच्च व्यवस्थापकीय अनभुव हासिल गरेको व्यक्तिले मात्र आवेदन दिन सक्ने छन्।
नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित मन्त्रिपरिषदले भदौ ९ गते सिफारिस समिति गठन गरेको थियो । समितिमा राष्ट्रिय योजना आयोगका सदस्य शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा खोमराज खरेल छन् ।
कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा गोप्य खामवन्दी आवेदन दिनु पर्नेछ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij