काठमाण्डौं — नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। पाँच दिनमै १ लाख ४९ हजार ८८१ अवलोकनकर्ताले शो अवलोकन गरिसकेका छन्। यो तथ्यांकले नेपाली जनतामा नयाँ प्रविधि र अटो शोप्रतिको बढ्दो चासो स्पष्ट पारेको छ।
आज पाँचौँ दिनमा पनि देशका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूले प्रदर्शनी अवलोकन गरेका छन्। अवलोकनकर्तामध्ये नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल, सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरी र कलाकार सन्दिप क्षेत्री रहेका छन्।

नाडाले हरेक दिन विविध विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ। आजको कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा सडक र यातायात सम्बन्धी अन्तरक्रिया सम्पन्न भयो। त्यसैगरी, नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा मेड इन नेपाल विषयमा अर्को अन्तरक्रिया कार्यक्रम आयोजना गरियो।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्षले भने, “यी उपलब्धिहरूलाई हामी एउटा नयाँ शुभारम्भको रूपमा लिएका छौँ। यसले हाम्रो अपेक्षा अझै बढाएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन तथा भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ।”
यस ऐतिहासिक सफलतामा योगदान गर्ने सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी र अवलोकनकर्ताप्रति नाडाले हार्दिक आभार प्रकट गरेको छ। आयोजकका अनुसार, नाडा अटो शो अब केवल प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सवका रूपमा स्थापित हुँदै गएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij