काठमाडौं – नेपाल बैंकर्स संघका उपाध्यक्ष एवं ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विद्युतीय सवारी साधानहरुमा बैंकहरुले राम्रै लगानी गरेको बताए । काठमाडौंमा जारी नाडा अटोशोका अवसरमा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र नाडाले आयोजना गरेको ‘ड्राइभिङ द फ्युचर : इभी एडप्सन इन नेपाल’ विषयक प्यानल डिस्कसन कार्यक्रममा बोल्दै उनले आगामी दिनमा पनि बैंकले इभीलाई प्राथमिकतामा नै राख्ने बताए । सन् २००० बाट निजी सवारीसाधनका रुपमा इभी आयात शुरु भएको तथ्यांक सुनाउँदै उनले अहिले भइरहेको प्रयोगको तथ्यांकले उत्साहित बनाउने बताए । वातावरणीय हिसाबले पनि इभी धेरै राम्रो भएकाले बैंकहरुले प्राथमिकताका साथ लगानी गरिरहेको उनको भनाइ छ । उपाध्यक्ष रेग्मीका अनुसार ग्लोबल आइएमईले इभीमा ऋण लगानी गर्न छुट्टै युनिट नै बनाएको छ, अन्य बैंकहरुले पनि बनाएका छन् ।
नीतिगत अस्पष्टताका कारण व्यवसायी मर्कामा
कार्यक्रममा नाडाका कार्यसमिति सदस्य एवं वातावरण समितिका सभापति कपिल शिवाकोटीले नीतिगत स्पष्टता नहँुदा व्यवसायीहरुले अहिले समस्या झेलिरहेको बताए । नाडाको इभी समितिका सदस्य समेत रहेका उनले दर्ता तथा परीक्षणमा समेत समस्या रहेको बताए । परीक्षण गर्ने उचित विधि नहुँदा आजको मितिमा पनि सेतो गुम्बाको उकालो चढाएर परीक्षण हुनु दुखद भएको उनले सुनाए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij