२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आधुनिक बाजाले बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

आधुनिक बाजाले बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

1.3K
Shares

कैलाली- बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै उहाँ काठ काट्ने औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउनुहुन्छ । त्यसपछि तयार भएको मादलमा खरी लगाउने, सुकाउने र डोरी कस्नुहुन्छ ।

नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्परानुसार शिवपार्वतीको उपासना एवं पूजा गर्ने तीज नजिकिएसँगै उहाँको व्यस्तता बढेको हो । मादलको मौस मादल बनाउने र बेच्ने फुर्सद हुँदैन ।

शिल्पी तीर्थको सानो कच्ची घर छ । समीपको अर्को कटेरोलाई उहाँले मादलको गोदाम बनाउनुभएको छ । उहाँले त्यो गोदाममा बेच्नका लागि ठिक्क पारेका एक दर्जनबढी मादल राख्नु भएको छ । मादल बनाउनको लागि तयार पारेका काठका घार पनि भण्डार गर्नुभएको छ । “एउटा मादल साधारणतया तयार गर्न ४ दिने लाग्ने गर्दछ । तर मादल बनाउँदा एक दिन घार तयार पार्ने, अर्को दिने कस्ने र खरी लगाउने गरिन्छ । खरी लगाएको मादललाई सुकाएर ‘फिनिसिङ’ गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

मादल बनाउने काठ अभाव भएको उहाँको गुनसो छ । रिट्ठा र आँपको काठमा कला भर्नुहुने उहाँ बाख्रा, राँगाको छाला र खरीढुङ्गाबाट मादल उत्पादन गर्ने गरेको बताउनुहुन्छ । “मादल बेचेर वार्षिक छ लाखसम्म आम्दानी हुनेगरेको छ ।

सात जनाको परिवार यसैले पालेको छु”, एउटा मादले रु तीन हजारदेखि रु १५ हजार सम्ममा बिक्री हुने गरेको जानकारी दिँदै १६ वर्षदेखि मादल बनाउँदै आउनुभएका तीर्थले भन्नुभयो । स्थानीय सरकारको सहयोग पाएमा मासिक ५० वटा मादल उत्पादन गर्न सकिने बताउँदै उहाँले आधुनिक बाजाले आफूहरूको पेसा सङ्कटमा परेको सुनाउनुभयो ।

बल्चौरकै अर्को मादल व्यवसायी किस्न बादी पनि मादल बनाउन व्यस्त हुनुहुन्छ । तीजमा मादलको माग बढ्ने भएकोले उहाँलाई चटारो छ । भएको सुनाउनुहुन्छ । किस्न बादीको पनि मुख्य आयस्रोत मादल बेच्ने नै भएको सुनाउनुहुन्छ । बजारको आधुनिक मादलले आफ्नो पेसा नै सङ्कटमा परेको सुनाउदै किस्न बादी व्यावसाय सञ्चालनका लागि स्थानीय र प्रदेश सरकार संग सहयोगको समेत अपेक्षा गर्नुभएको थियो । उहाँले मादल बेचेरै वार्षिक ३÷४ लाख रूपैयाँ आम्दानी गर्ने गरेको बताउनुहुन्छ ।

बादी समुदायले लामो समयदेखि मादल, दमाहा ठेकी, सुल्फा, हुक्का बनाएर जीविकोपार्जन गर्दै आएको भए पनि हाल आफ्नो पेसा सङ्कटमा परेको दुखेसो उहाँले गर्नुभयो । उहाँले आफ्नो पीडा सुनाउँदै भन्नुभयो, “हिजोआज वनबाट मादल बनाउने काठ ल्याउन पाइँदैन ।”

बादी समुदायले परम्परागत पेसाका रूपमा मादल बनाउँदै आएकामा समाजमा आधुनिक बाजाको प्रचलन बढ्दै जाँदा परम्परागत बाजाको प्रयोग घट्न थालेपछि बादी समुदायको बाजा बनाउने पेसा सङ्कटमा परेको लम्कीचुहा नगरपालिका–३ बल्चौरका रमेश बादीले बताउनुभयो ।

लम्कीचुहा नगरपालिका–३ बल्चौरमा बादी समुदायका एक सय ७१ घर छन् । विगतमा घुमन्ते जीवन बिताउँदै आएको उक्त समुदायले स्थायी रूपमा बसोबासको सुनिश्चितता भए पनि रोजगारीको अभावमा छिमेकी मुलुक भारतलाई रोजीरोटी आर्जनको थलो बनाएका छन् । यद्यपि यो समुदायका केही सदस्य मादललगायत बाजाका साथै घरेलु हतियार हँसिया, खुकुरी, बन्चरो, खुर्पा तथा कृषि औजार बनाएर परम्परागत पेसालाई निरन्तरता दिइरहेका छन् । बजार अभावमा आफूहरूलाई टिक्न कठिन भएको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij