बागमती- यातायात व्यवस्था कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१/८२ मा रु ५७ करोड ४२ लाख ७६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा नयाँ सवारीसाधन दत्र्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट उक्त राजस्व सङ्कलन भएको हो ।
यस अवधिमा साना र ठूला गरी ६ हजार ९५ नयाँ सवारीसाधन दत्र्ता भएका कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा रु एक करोड ३५ लाख ५९ हजार बढी राजस्व तथा एक हजार ६९६ बढी नयाँ सवारीसाधन दत्र्ता भएका छन् ।
कार्यालयले आव २०८०/८१ मा नयाँ सवारीसाधन दत्र्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र बितरण लगायतका शिर्षकबाट रु ५६ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो । उक्त आवमा कार्यालयले चार हजार ३९९ सवारीसाधन दत्र्ता गरेको प्रमुख श्रेष्ठले बताए ।
आव २०८१/८२ मा सवारीसाधन चालक अनुमतिपत्र वितरणबाट रु नौ करोड ६२ लाख ८१ हजार, सवारी करबाट रु ३४ करोड ७९ लाख ९८ हजार, यातायात क्षेत्रको आम्दानीबाट रु आठ करोड ९५ लाख ९४ हजार, सङ्घीयतातर्फ रु चार करोड तीन लाख ९४ हजार तथा बेरुजुबाट रु आठ हजार राजस्व सङ्कलन भएको छ ।
यस्तै आव २०८१/८२ मा मोटरसाइकल तीन हजार २२५, टेम्पो/ई–रिक्सा ८८९, जीप/कार/भ्यान ७६१, क्रेन/डोजर/एस्काभेटर/ट्रक ६८६, माइक्रो बस २८६, बस १४१, मिनी बस २० तथा ट्याक्टर १२ वटा दर्ता भएका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यस अवधिमा सात हजार १२० सवारी चालक अनुमतिपत्र वितरण गरिएको छ । सो अवधिमा ६ हजार ३७१ नविकरण, ९२ प्रतिलिपी, ९७ वटा नविकरण र प्रतिलिपी दिइएको कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij