२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेले सच्यायो गल्ती, परिसूचक ७.१० अंकले बढ्यो

नेप्सेले सच्यायो गल्ती, परिसूचक ७.१० अंकले बढ्यो

1.3K
Shares

काठमाडौं – यसअघि अन्तिम विन्दु निकाल्दा भएको गल्ती नेप्सेले सच्याएको छ। कम्पनीको अन्तिम मूल्यको आधारमा औषत निकाल्न पर्नेमा न्यूनतम मूल्यको आधारमा निकालेपछि गणना गडबढ भएको बताइएको छ।

संशोधनपछि बजार परिसूचक नेप्से ७.१० अंकले बढेर २९७१.३१ विन्दुमा पुगेको देखिन्छ। यसअघि नेप्से परिसूचक बजार बन्द हुँदा २.०७ अंकले घटेर २९६२.१३ मा देखिएको थियो।

पछिल्लो समय नेप्सेले अन्तिम १५ मिनेटभरको औसतलाई लिएर यो दिनको अन्तिम विन्दु निकाल्दै आएको छ। नेप्सेले गत चैत ६ गतेबाट यसरी अन्तिम परिसूचक निकाल्न थालेको हो।

सोमबार बजार बन्द हुनुभन्दा अन्तिम १५ मिनेटको समयमा लगातार बढिरहेको देखिन्थ्यो। दुई बजेर ४५ मिनेट जाँदा नेप्से परिसूचक २९६७ मा थियो।

यो १५ मिनेटको बीचमा नेप्से दुई पटक सामान्य घटेको देखिन्थ्यो। एक पटक नेप्से २९६९.८३ बाट घटेर २९६९.५५ मा र अर्कोपटक २९७१ बाट घटेर २९६९ मा आएको देखिन्थ्यो।

१५ मिनेटमा त्यसबाहेक अन्य सबै समय नेप्से परिसूचक बढिरहेको देखिन्थ्यो। बजार बन्द हुँदा भने नेप्से अघिल्लो दिनकोभन्दा १२ अंकले बढेर २९७६.३६ विन्दुमा पुगेको थियो।

तर, औसत पछिको अन्तिम विन्दु भने २.०७ अंकले घटेर २९६२.१३ देखियो। औसत निकालेपछि पनि बजार घटेको नदेखिनु पर्नेमा यस्तो भएको भन्दै लगानीकर्ताहरूले गुनासा गरेपछि नेप्सेले यस विषयमा अध्ययन गरिरहेको बताएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij