काठमाडौं – नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनीलाई नियम उल्लंघन गरेकोमा कारबाही गरेको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमासमा नियम मिच्ने सिटिजन्स बैंक र एनआईसी एसिया बैंक तथा पोखरा फाइनान्स र गृहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई कारबाही गरेको हो।
सिटिजन्स बैंकले राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन नं. ६ को बुँदा नं. ४(१३) मा भएको व्यवस्थाविपरीत तथा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागबाट प्रेषित निर्देशनविपरीत बैंकका प्रमुख कार्यकारी अधिकृतको करार सम्झौतामा संशोधन गरी प्रमुख कार्यकारी अधिकृतको सुविधा वृद्धि गरेको, सिटिजन फास्ट ट्रयाक लोन अन्तर्गत कर्जाको उपयोगको सम्बन्धमा आन्तरिक लेखापरीक्षकबाट विस्तृत अध्ययन गर्न राष्ट्र बैंकबाट दिइएको निर्देशनको पालना नगरेको पाइएको छ। निर्देशन पालना गरेकै कारण सिटिजन्स बैंकको सञ्चालक समितिलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(क) अनुसार सचेत गराइएको छ।

त्यस्तै सिटिजन्स बैंकले ब्याजदर अन्तरको गणना गलत तरिकाबाट गरेको, नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता गरेकोे, दाबी परेका बैंक जमानतको भुक्तानी राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन नं. २ को बुँदा नं. १९ मा तोकिएको समयवाधिभित्र नगरेको, लामो समयसम्म निरन्तर अस्थायी रुपमा म्याद बढाइएका कर्जामा एजिङ वाइज कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, राष्ट्र बैंकबाट जारी चालुपुँजी सम्बन्धी मार्गदर्शन, २०७९ मा भएका व्यवस्थाहरुको पूर्ण रुपमा पालना नभएको, तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिर्पोटिङ गरेकोले प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंक ऐनको दफा १००(२)(क) अनुसार सचेत गराइएको छ।
उता तत्कालीन समयमा राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७४ (इ.प्रा.निर्देशन नं. १५/०७४, बुँदा नं २, ५ (ङ)) मा उल्लेख भएको व्यवस्था विपरीत ऋणीबाट बढी ब्याज असुल गरेको पाइएको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागू हुने व्याजदर (स्थिर÷परिवर्तनीय), किस्तासम्बन्धी व्यवस्था लगायतका इ.प्रा.निर्देशन नं. २०/०८१ को बुँदा नं. १ मा उल्लेख भएको व्यवस्था बमोजिम सरल एवं स्पष्ट भाषामा उल्लेख गरेको नपाइएको तथा ब्याजदर परिवर्तन गरेको जानकारी ऋणीलाई दिएको नदेखिएकाले एनआईसी एसिया बैंकलाई राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा १ (क) बमोजिम सचेत गराइएको छ।

यसैगरी केन्द्रीय बैंकले गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फानान्सका सञ्चालक तथा प्रमुख कार्यकारीलाई पनि सचेत गराएको छ । केन्द्रीय बैंकले नोक्सानी व्यवस्था तथा वर्गीकरणको रिपोर्टिङमा कैफियत पाइएको र कतिपय कर्जाको बक्यौता ब्याज(किस्ता असुल गर्न थप कर्जा प्रवाह गरी कर्जा नियमित गरेको पाएपछि सीईओलाई सचेत गराएको छ ।
बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन २०७३ को व्यवस्था विपरीत संस्थाले वार्षिक साधारणसभा भन्दा अगाडि रिक्त सञ्चालक पदमा नियुक्ति नगरेको, साधारणसभामा रिक्त सञ्चालक नियुक्तिका लागि निर्वाचन प्रक्रियामा नगएको र साधारणसभा सकिएपछि मात्र सञ्चालक समितिबाट सञ्चालक नियुक्त गरेको पाइएपछि सञ्चालक समिति अध्यक्ष तथा सदस्यलाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।
त्यसैगरी संस्था सञ्चालक समितिको अध्यक्ष रहेको अवधिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को व्यवस्था बमोजिम कर्मचारीको उपदानको विषयमा संस्थाको कर्मचारी विनियमावलीमा गरेको संशोधन स्वीकृति नगराइ कार्यान्वयनमा ल्याएपछि केन्द्रीय बैंकले संस्थाका अध्यक्षलाई सचेत गराएको जनाएको छ ।
त्यसैगरी, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थामा कमजोरी देखाएको पाइएको छ। बैंकले कतिपय कर्जा चुक्ता गर्नको लागि पुनः नयाँ कर्जा प्रवाह गरी कर्जा नियमित देखाउने अनियमित अभ्यास गरेको राष्ट्र बैंकले जनाएको छ।
वार्षिक साधारणसभा अघि रिक्त सञ्चालक पदमा नियुक्ति नगरेको, साधारणसभामा निर्वाचन नगरी मात्रै पछि सञ्चालक समितिबाट सदस्य नियुक्त गरेको, र कर्मचारी उपदानसम्बन्धी नियमावलीमा संशोधन गर्दा नियामक स्वीकृति नलिएको पाइएपछि गुह्येश्वरीका प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिका सदस्यहरूलाई राष्ट्र बैंकले सचेत गराएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij