२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कम्पनी रजिष्ट्रार कार्यालयका ३१ कर्मचारीको सरुवा

कम्पनी रजिष्ट्रार कार्यालयका ३१ कर्मचारीको सरुवा

990
Shares

काठमाडौँ- सरकारले कम्पनी रजिष्ट्रार कार्यालयका ३१ जना कर्मचारीलाई एकैपटक सरुवा गरेको छ । सेवाग्राहीको काम समयमा नगरेको तथा स्वचालित कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको फाइलसमेत सदर नगरेको भन्ने गुनासो आएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार कम्प्युटर निर्देशकसहित कर्मचारीलाई सरुवा गरेको हो ।

शाखा अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर तथा कार्यालय सहयोगीसहित ३१ जना कर्मचारीलाई अन्यत्र निकायमा कामकाज गर्न खटाइएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गत असार २७ गतेको निर्णयअनुसार सहसचिवको नेतृत्वमा गठित छानबिन तथा कारबाही सिफारिस समितिको प्रतिवेदनका आधारमा उक्त निर्णय गरिएको हो ।

उद्योगमन्त्रीस्तरीय निर्णयअनुसार कम्पनी रजिष्ट्रार कार्यालयको अनलाइन प्रणालीमार्फत गरिएको कम्पनी प्रशासनसम्बन्धी सेवाका सम्बन्धमा प्राप्त गुनासोलाई मध्यनजर गरेर कार्यालयको स्थलगत अनुमगन गरिएको थियो ।

सो कार्यालयको सेवालाई सरल, चुस्त, पारदर्शी र थप प्रभावकारी बनाउने लक्ष्यका मन्त्रिस्तरीय निर्णय भएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो । सोही निर्णयका आधारमा मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित तीन सदस्यीय कार्यदलले सो कार्यालयको स्थलगत निरीक्षण गरेको थियो ।

कार्यदल एवं छानबिन समितिबाट नियमित अनुगमन गर्ने तथा कम्पनी ऐन तथा प्रचलित कानुनबमोजिम प्रणालीगत सुधार र प्रक्रियागत सरलीकरण गरी अनलाइन सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउनसमेत कार्यालयलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij