काठमाडौं – नेपाल राष्ट्र बैंकले लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गरेको छ । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक) का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी गरिएको हो ।
मुनाफाको बाँडफाँड तथा लाभांश वितरणसम्बन्धी व्यवस्थालाई पारदर्शी एवं थप व्यवस्थित बनाउने अभिप्रायले यो मार्गदर्शन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले जारी गरेको मार्गदर्शन अनुसार अनुमतिपत्र प्राप्त संस्थाले यस मार्गदर्शन समेतलाई आधार लिई लाभांश वितरणसम्बन्धी नीति तर्जुमा गरी लागू गर्नु पर्नेछ । यस्तो नीति संस्थाको सञ्चालक समितिबाट पारित भएको हुनुपर्नेछ ।
लाभांश नीतिमा मुख्य गरी नियामकीय पुँजी कायम गर्ने सम्बन्धमा संस्थाको योजना र प्राथमिकतासम्बन्धी विवरण समावेश गर्नुपर्नेछ । यस्तै, नगद लाभांश र शेयर लाभांश वितरणसम्बन्धी नीति समावेश गर्नुपर्नेछ । अनुमतिपत्र प्राप्त संस्थाले कम्तीमा जोखिम बहन कोष र जगेडा कोषको कोषहरूको व्यवस्था गर्नुपर्नेछ ।

शेयर प्रिमियम एवं ‘बार्गेन पर्चेज गेन’बाट नगद लाभांश घोषणा गर्न नपाइने एवं शेयर लाभांश वितरण गर्दा संस्थाको नेटवर्थ ऋणात्मक नरहेको, नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको, संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित शर्तहरु ‘लोन कन्भेन्स’ले लाभांश वितरण बन्देज गरेको अवस्था नरहेको र राष्ट्र बैंकबाट भएको स्थलगत एवं गैर स्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भीर प्रकृतिका कैफियत रहेको अवस्था नरहेको लगायत पूर्वशर्तहरु पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij