काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२।८२ का लागि ल्याएको वार्षिक मौद्रिक नीतिमार्फत ल्याइएको व्यवस्था कार्यान्वयन गर्न बैंकहरुलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बुधबार एकिकृत निर्देशन जारी गरेको हो। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याइएको व्यवस्थालाई कार्यान्वयन गर्न तथा वित्तीयलाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गरेको छ। अब सोही संशोधित निर्देशनबमोजिम गर्न बैंकहरुलाई निर्देशन दिइएको छ।
आवासीय घर निर्माणका लागि प्रदान गर्ने कर्जाको हकमा लोन टु भ्यालु अनुपात बढाएर ७० प्रतिशत कायम गरिएको छ। यसअघि ६० प्रतिशत थियो। पहिलोपटक घर खरिद वा निर्माण भने यो अनुपात ८० प्रतिशत कायम गरिएको छ। जुन पहिले ७० प्रतिशत थियो।
त्यस्तै वैदेशिक रोजगारमा जाने व्यक्तिलाई धितो लिई वा नलिई उपलब्ध गराएको प्रतिव्यक्ति कर्जा ३ लाख रुपैयाँ तथा महिलाको हकमा ५ लाख रुपैयाँसम्म कर्जा गर्न पाउने प्रावधान ल्याइएको छ। यसअघि प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँसम्म कर्जा उपलब्ध गराउन पाउने प्रावधान थियो।
यसैगरी पहिलोपटक घर खरिद गर्दा वा निर्माण गर्दा व्यक्तिगत आवासीय घर कर्जाको सीमा बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ। यसअघि कर्जाको सीमा २ करोड रुपैयाँ थियो।
मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले एकल ग्राहक शेयर धितो कर्जाको सीमा बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ। यसअघि कर्जाको सीमा १५ करोड रुपैयाँमात्रै थियो।
यसैगरी एकीकृत निर्देशनमा संशोधन गर्दै वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र राष्ट्रियस्तरका वित्त कम्पनीलाई निक्षेप संकलनसम्बन्धी कुनै सीमा नलाग्ने प्रावधान ल्याइएको छ। यसअघि यो प्रावधान वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकका हकमा मात्रै ल्याइएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij