२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिबिफिनद्वारा मौद्रिक नीतिको स्वागत, कार्यान्वयनमा सहकार्य गर्ने प्रतिबद्धता

सिबिफिनद्वारा मौद्रिक नीतिको स्वागत, कार्यान्वयनमा सहकार्य गर्ने प्रतिबद्धता

1.1K
Shares

काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको हार्दिक स्वागत गरेको छ। सिबिफिनले वित्तीय क्षेत्रको वर्तमान अवस्था, निजी क्षेत्रको मनोवृत्ति तथा विश्व परिवेशको वस्तुनिष्ठ मूल्यांकनका आधारमा जारी नीति सन्तुलित, समयसापेक्ष र उदार रहेको बताउँदै त्यसले बैंकिङ क्षेत्रमा खस्किँदै गएको मनोबललाई उकास्ने विश्वास व्यक्त गरेको छ।

सिबिफिनले लामो समयदेखि सुषुप्त अवस्थामा रहेको मुलुकको अर्थतन्त्रमा मौद्रिक नीतिले नयाँ जीवन प्रदान गर्ने र बैंकिङ तथा आर्थिक गतिविधिलाई गति दिने स्पष्ट मार्गचित्र कोरेको जनाएको छ।

संस्थाले पूँजीकोषमा दबाब भोगिरहेको वर्तमान अवस्थामा कर्जा लगानी क्षमता अभिवृद्धि गर्ने, कर्जा व्यवस्थापन सहज बनाउने र वित्तीय स्थायित्व कायम गर्ने नीति सकारात्मक रहेको बताएको छ। बैंकदर तथा नीतिगत दर घटाइएको कुराले कर्जा विस्तारमा सहजता ल्याउने र राष्ट्र बैंकको कर्जा विस्तार लक्ष्य हासिल हुने विश्वास व्यक्त गरिएको छ।

त्यस्तै, निष्क्रिय कर्जा तथा गैरबैंकिङ सम्पत्ति वृद्धि भइरहेको सन्दर्भमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाका लागि आवश्यक कानूनी मस्यौदा तयारी, आवासीय कर्जा तथा शेयर धितो कर्जाको सीमा वृद्धि, चालू पूँजी कर्जाका प्रावधानहरू परिमार्जन, कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थाको पुनरावलोकन, र कृषि तथा साना उद्योगमा कर्जा सहजीकरणका प्रयासहरूलाई सिबिफिनले सुधारमुखी कदमका रूपमा स्वागत गरेको छ।

सिबिफिनले “ऋणीसँग नेपाल राष्ट्र बैंक” कार्यक्रमजस्ता चेतनामूलक तथा सेवाग्राहीमैत्री कार्यक्रमहरूको कार्यान्वयनले दीगो र सुदृढ अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने विश्वास लिएको छ।

लगानी प्रवर्द्धन, उत्पादन तथा रोजगारमुखी क्षेत्रको विकास, नवप्रवर्तन र युवाशक्ति परिचालन, हरित लगानी प्रवर्द्धन लगायतका विषयमा केन्द्रित रहँदै सिबिफिनले मौद्रिक नीतिमा समावेश हुन नसकेका कतिपय महत्वपूर्ण सुझावहरू आगामी निर्देशन वा समीक्षामार्फत सम्बोधन हुने आशा व्यक्त गरेको छ।

नीतिहरूको प्रभावकारी कार्यान्वयनमा सिबिफिनले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij