काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले अश्वीनी कुमार ठाकुरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ। बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार ठाकुर स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त भएका हुन्।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४(३) बमोजिम गरिएको नियुक्तिसँगै ठाकुरले आज असार २९ गते एक औपचारिक समारोहबीच पदबहाली गरेका छन्। केन्द्रीय कार्यालयमा आयोजित सो कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरूले उनलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान) का प्रमुख कार्यकारी अधिकृत, मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड र नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेडजस्ता संस्थामा बोर्ड सदस्यका रूपमा काम गरिसकेका ठाकुरसँग लामो अनुभव रहेको बैंकले जनाएको छ।
बैंकले विश्वास लिएको छ कि उनको अनुभवले संस्थाको समग्र संस्थागत सुशासन अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्नेछ।
“सबल बैंक, सफल सहकार्य” भन्ने नाराका साथ बैंकले हाल देशभर १०३ वटा शाखा मार्फत ८ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij